थप समाचारबुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
३५ वर्षदेखि गाउँलेको सेवामा समर्पित भारतीय सेनाका पूर्व सैनिक धनीराम घले (७५) नै बारपाकका पहिलो ‘डाक्टर’ हुन्।
२०३७ सालको एक साँझ नौ जना भरिया अघि लगाएर लाहुरे धनीराम घले बारपाक, गोरखास्थित घर फर्केका थिए। गाउँलेको अनुमान स्वाभाविक थियो– पेन्सन पकाएर फर्किएका यी लाहुरेले पक्कै पनि थरीथरीका लुगा, खानेकुरा, रेडियो, टीभी, घडी जस्ता अनेक चिज ल्याएको हुनुपर्छ। तर, घले फरक निक्लिए। उनका भारी त औषधि नै औषधिले भरिएका रहेछन्।
भारतीय सेनामा भर्ती हुनुअघि नै घलले स्वास्थ्यकर्मी र औषधिको अभावमा थुप्रै गाउँलेले रोग पालेर बसेको देखेका थिए। त्यसैले पनि पल्टनमा चिकित्सा टोली उनको रोजाइमा पर्यो। सेनामा १७ वर्षसम्म रहँदा उनी कुशल स्वास्थ्यकर्मी बनिसकेका थिए। सीप त हातैमा थियो, त्यसैले घलेले औषधि ल्याएका थिए। फर्किएपछि गाउँमै स्वास्थ्योपचार सेवा दिने उनको पहिल्यैको सपना थियो।
लाहुरेले औषधिसहितको उपचारसेवा शुरु गरेपछि गाउँलेले उनलाई आशीर्वाद दिए। त्यही ऊर्जाले आजपर्यन्त उनी बिरामीको सेवामा खटिरहेका छन्। बारपाकको मिलनटोलस्थित घलेको घरको भुईंतला नै गाउँलेको स्वास्थ्यचौकी हो।
समयक्रममा लाहुरेबाट ‘डाक्टर बा’ बनेका घले हातखुट्टा भाँच्चिंदा प्लास्टर गर्नेदेखि प्रसूति समेत गराउँछन्। “फौजमा महिला नभएकाले उनीहरूको रोगको उपचार गर्न जान्दिनथें, काठमाडौंमा गएर तालीम लिएँ”, खुशी हुँदै उनी सुनाउँछन्, “प्रसूतिका क्रममा धेरै आमा र बच्चा बचाएको छु।”
१२ वैशाखको भूकम्पमा केन्द्रबिन्दुसमेत रहेको बारपाकमा ७२ जनाले ज्यान गुमाए। ११५ जना गम्भीर घाइते भए। सामान्य घाइते त कति कति। भूकम्पले घलेको घर पनि चर्कियो। उनले हत्तपत्त घाइतेलाई क्षति नभएको ढलान घरमा राख्न लगाए। फटाफट उपचार थाले। सबैको निःशुल्क उपचार गरेका उनले रु.९० हजारजतिको त औषधि नै बाँडे।
“क्लिनिक दबाई निख्रिएर रित्तो भएको थियो”, उनी भन्छन्, “तर, गाउँलेलाई विपत्मा सहयोग गर्न पाएकोमा मनचाहिं पाथी भात खाए जस्तै भएको थियो।”
अप्ठेरोमा सहयोग गर्नु नै जीवनको सार ठान्ने घले शरीरले भर दिएसम्म बिरामीको उपचार गरिरहनेमा दृढ छन्।