समाचारबिहीबार, माघ ७, २०७२
सद्भावना अध्यक्ष महतो फेरि बिरामी
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फेरि बिरामी परेका छन् । सिरहाको लहानमा पार्टी कार्यकर्तासँग छलफल गरिरहेकै बेला अचानक उच्च रक्तचाप बढेर उनी बिरामी परेका हुन् ।
“अचानक उच्च रक्तचाप बढेर बेहोस भएपछि उपचारका लागि लहानस्थित डिभाइन अस्पतालका डा चन्द्रशेखर यादवलाई बोलाएँ”– सद्भावना पार्टीका नेता राजु गुप्ताले भने “डाक्टरको सल्लाहअनुसार अहिले उहाँ बेडरेस्टमा हुनुहुन्छ ।”
महतो दिल्लीमा उपचार गराएर तीन दिन अगाडिमात्रै काठमाडौँ आइपुगेका थिए । दिल्लीमा गरिएको परीक्षणमा उनको शरीरमा भिटामिन बी १२ को कमी रहेको पाइएको थियो भने महतोलाई चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएका थिए ।
काठमाडौँमा राजनीतिक भेटघाट र पार्टीको बैठकपछि पहिलो शहीद रमेश महतोको बलिदानी दिवस मनाउन मङ्गलबार लहान आएका थिए ।
बेडरेस्ट नगरेकै कारण उनी फेरि बिरामी परेको उपचारमा संलग्न डा यादवले बताए । उनका अनुसार टाउको दुख्ने, रक्तचाप उच्च हुने, रिँगटा लाग्ने र आँखा दुख्नेलगायतका समस्याबाट अध्यक्ष महतो ग्रसित छन् ।
अचानक बिरामी परेपछि उनी सिरहाको माडरमा ६ माघमा मधेशी मोर्चाले आयोजना गरेको सभामा समेत नगई लहानकै होटलमा आराम गरेका छन् ।
रासस