समाचारशुक्रबार, माघ ८, २०७२
मोर्चाद्वारा टेलिकम कार्यालयमा तोडफोड, सर्वसाधारण घाइते
हिजो रंगेलीमा भएको घटनाको विरोधमा वीरगञ्जमा प्रदर्शन गरिरहेका मधेश केन्द्रित दलका कार्यकर्ताले नेपाल टेलिकमको कार्यालयमा तोडफोडका साथ टेलिफोन क्याविनेटमा आगजनी समेत गरेका छन् ।

टेलिकमको कार्यालयमा ढुंगा प्रहार गर्दै प्रदर्शनकारी । तस्वीर: जियालाल साह
तोडफोड र आगजनीबाट टेलिकम कार्यालयभित्र रहेको ३० र ३६ नम्बरका क्याविनेटमा क्षति पुगी ७ सय लाइन टेलिफोन अवरुद्ध भएको साथै कम्प्युटर लगायतका सामानहरु ध्वस्त भएको निमित्त कार्यालय प्रमुख गिरिराज सुवेदीले बताए ।
उनले भने, “करिब रु ५० लाख बराबरको क्षति पुगेको छ ।”
प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर बारा, मोतिसरका २० वर्षीय दिनेशप्रसाद यादवको निधारमा गहिरो चोट लागेको छ ।

प्रतिरक्षारत प्रहरी । तस्वीर: जियालाल साह
टेलिकम कार्यालय तोडफोडमा संलग्न वीरगञ्ज–१० गहवाका २८ वर्षीय विजय साह कानु सहित प्रहरीमाथि गुलेलीले आक्रमण गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनीहरुले वीरगञ्जको घण्टाघर चोकमा छपकैयाबाट आईरहेको बा १० प ८३२४ नम्बरको गाडीमा समेत तोडफोड गरेका छन् ।
यसअघि बिहानै प्रदर्शनकारीले सशस्त्र प्रहरीका एसपी भीमबहादुर थापाको गाडी रोकेर पछाडिबाट ढुंगा प्रहार गरेका थिए ।

घण्टाघर चोकमा प्रदर्शनकारी । तस्वीर: जियालाल साह
संघीय समावेशी मधेसी युवा गठबन्धनका नेता कार्यकर्ताहरुले वीरगन्जको घण्टाघर चोकमा ८ माघ बिहान प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।

प्रदर्शनकारीले गाडीको सिसा पनि फुटाइदिएका छन् । तस्वीर: जियालाल साह
प्रदर्शनका कारण वीरगन्ज बजार बिहानै देखि बन्द भएको छ । उनीहरुले वीरगञ्जमा सार्वजनिक यातायातका सवारी साधनहरु र स्कुल बस समेत चल्न दिएका छैनन् ।
-सुरेश विडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
