रमझमबिहीबार, मंसिर १४, २०६९
काठमाडौंमा आतिफ असलामको कन्सर्ट
‘वह लम्हें, वह बातें कोई ना जाने…,’
तु जाने ना…,’
पहली नजर में…’
लगायतका लोकप्रिय गीतका गायक आतिफ असलाम नेपाली स्रोतामाझ प्रस्तुत हुने भएका छन् । पछिल्लो समय बलिउडमा प्लेब्याक सिंगरका रुपमा चर्चित यी पाकिस्तानी पप गायक १५ मंसिरमा राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामामा संगीतका पारखीलाई नचाउँदैछन् । कार्यक्रमको आयोजना ओडोसी इन्टरटेनमेन्टले गरेको हो ।
क्यानाडेली रक गायक ब्रायन एड्म्स र डेनिस ब्यान्ड एमएलटीआरको सफलतापूर्वक कन्सर्ट गरिसकेको ओडीसी इन्टरटेनमेन्टले ७ फागुन २०६७ मा क्यानाडेली रक गायक ब्रायन एडम्स र ३ मंसिर २०६८ मा डेनिस पप ब्यान्ड एमएलटीआरको कन्सर्ट गराएको थियो । त्यसबेला रंगशालामा भएको ब्रायनको कन्सर्टमा ३० हजार बढी र एमएलटीआरको कन्सर्टमा १५ हजार दर्शकको सहभागिता भएको थियो । कार्यक्रममा आतिफसहित १० जनाको समूह आउने आयोजक संस्थाका प्रमुख सीमान्त गुरुङले बताए ।
पर्यटन बोर्डले प्रवद्र्धन गरेको कार्यक्रममा महानगरीय प्रहरी आयुक्त कार्यालयको कमान्डमा १२०० प्रहरी परिचालन हुनेछन् । कार्यक्रमस्थल सीसीटीभी क्यामेराको निगरानीमा हुनेछ ।
‘पिया ओ रे पिया…’ ‘तेरे नाल लभ हो गया’ फिल्मको यो गीत जस्तै ‘दूरी’, ‘तेरे बिन’, ‘वा खुदा’ लगायतका गीतबाट लोकप्रिय उनले रंगशालामा यिनै गीतसहित उनले शुक्रबार बेलुकी रंगाशालामा दुई घन्टा गीत गाउने छन् । आतिफलाई बलिउड निर्देशक महेश भट्टले सात वर्षअघि जहर फिल्ममार्फत ब्रेक दिएपछि उनी एशिया महाद्वीपमा लोकप्रिय भएका हुन् । त्यसयता उनले बलिउडका दर्जनजति फिल्ममा गाइसकेका छन् । हलिउडमा समेत स्वर दिइसकेका उनले आधा दर्जन एल्बम निकालेका छन् ।