समाचारआइतबार, माघ १०, २०७२
मधेश आन्दोलनको प्रभावः आलुको उत्पादन र भाउ दुवै घट्यो
बारा–पर्सामा यसवर्ष आलुको उत्पादन घट्यो तर त्यही आलु पनि बजारमा पुर्याउन नसक्दा कृषक र व्यापारी दुवैले घाटा ब्यहोरिरहेका छन् ।

वीरगञ्जको अालु बजार । तस्वीर: सुरेश बिडारी
बाराको सिम्रौनगढ–२ अमृतगञ्जका अमरेन्द्र मुखियाले चार विगाहामा आलु खेती गरेका थिए । तर, लगातारको तराई बन्द र भारतीय नाकाबन्दीले गर्दा उनले त्यो आलु बजारसम्म पुर्याउन सकेका छैनन् । बजारमा पुर्याउँदा पनि भाउ पोहोरको भन्दा निकै कम छ ।
“यसपाली आलुको उत्पादन पनि कम भयो, त्यसमाथि बन्दीले गर्दा भाउ पनि कम छ,” उनले भने । उनको खेतमा पोहोर प्रति कठ्ठा ७ क्वीन्टलसम्म आलु फलेको थियो । यसपाली उत्पादन घटेर प्रति कठ्ठा ४ क्वीन्टलमा झर्यो । वीरगञ्ज बजारमा पोहोर प्रति क्विन्टल रु १६०० मा आलु बेचेका उनले यसपाली १२ सयमै चित्त बुझाउन परेको छ ।
पुसदेखि चैतसम्म आलु उत्पादन हुने सिम्रौनगढ क्षेत्रका मुखिया जस्तै अन्य किसान र व्यापारीहरु पनि आलु बेच्न बजार लैजाने ढुवानीका साधन नहुँदा चिन्तित छन् । सवारी साधन पाईहाले पनि चर्को भाडा तिर्नुपर्ने बाध्यता छ ।
किन घट्यो भाउ
बारा पर्सामा उत्पादन हुने आलु किसानहरुले वीरगञ्जका व्यापारीलाई बेच्छन् । वीरगञ्जका व्यापारीले त्यो आलु देशका विभिन्न भागमा पुर्याउँछन् । तर यसपाली मधेशमा जारी आन्दोलनले गर्दा वीरगञ्जबाट आलु बाहिरिन पाएन । स्थानीय स्तरमा आलु थुप्रिंदा भाउ घट्यो ।
सामान्य अवस्थामा वीरगञ्जबाट दैनिक ५० टन आलु जिल्ला बाहिर जाने गरेकोमा अहिले २० टन मात्रै बाहिरिने गरेको वीरगञ्जका व्यापारी अमितकुमार बताउँछन्– त्यो पनि चर्को ढुवानी भाडा तिरेर ।
अहिले सिम्रौनगढ, मटिअर्वा लगायतका क्षेत्रबाट आलु बजारमा आउन थालेको बताउने अमित कुमारले उक्त आलु जिल्ला बाहिर पठाउन नसकिएकोले भाउ घटेको बताए । गोदाममै थुप्रिएको आलु कुहिने सम्भावना पनि उत्तिकै छ ।
“एक महिना अघि १८ सय रुपैंया प्रति क्वीन्टल थियो, अहिले १२ सयमा झरेको छ,” उनले भने ।
वीरगञ्जमा आलुको खुद्रा मुल्य रु १४ प्रतिकिलो छ ।
“५ महिनाको बन्दले मलाई मात्रै ३ लाख भन्दा बढी घाटा लाग्यो,” अमितले भने ।
तरकारी तथा फलफुल व्यवसायी संघ पर्साका अध्यक्ष विदुर गुप्ताले लामो समयको बन्द हड्तालले आलु किसान र व्यापारी धेरै मर्कामा परेको बताए ।
‘बन्द कुनैदिन खुकुलो भईदिन्छ, कुनैदिन कडा हुन्छ,” गुप्ताले भने, “जबसम्म सवारी साधन विना अवरोध सञ्चालनमा आउने वातावरण बन्दैन तबसम्म व्यापार बढ्दैन ।”
गत वर्ष ७ हजार ३० हेक्टर क्षेत्रफलमा आलु खेती भएको बारामा कुल उत्पादन १ लाख २ हजार मेट्रिक टन भएको थियो भने यसवर्ष ७ हजार ४० हेक्टर क्षेत्रफलमा आलु खेति गरिएको जिल्ला कृषि विकास कार्यालय बाराका योजना अधिकृत राम दयाल ठाकुरले जानकारी दिए ।
बन्द हड्ताल चलिरहेकै अवस्थामा ६० प्रतिशत आलु खनिसकेको उनले बताए ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
