थप समाचारसोमबार, माघ ११, २०७२

रंगेली घटनाः अहंकारको परिणाम

हिमालखबर

सत्ताको नेतृत्वमा रहेको नेकपा एमाले र आन्दोलनरत मधेशी मोर्चाले सर्वदलीय छलफलले गरेको आग्रह मानेको भए न तीन जनाको ज्यान जान्थ्यो न त डेढ दर्जन घाइते हुनेथिए ।

–कमल रिमाल, विराटनगर

Rएमालेको भ्रातृ संगठन युवासंघले ७ माघमा मोरङको रंगेलीमा आयोजना गरेको मधेश जागरण सभा बिथोल्न आएका मधेशी मोर्चाका कार्यकर्तासँगको झ्डपमा सुरक्षाकर्मीले गोली चलाउँदा द्रौपतीदेवी चौधरी (५८), महादेव ऋषिदेव (२८) र शिवु माझी (२०) को मृत्यु भयो ।

संघले जागरण सभाको तयारी गरेपछि मोर्चाले प्रतिरोधमा विरोध सभाको घोषणा गरेको थियो । एकै दिन एकै ठाउँ परस्पर विरोधी कार्यक्रम हुने भएपछि मोरङ जिल्ला प्रशासनले सर्वदलीय छलफल आयोजना गर्‍यो, जसमा सहभागी सबैले एमालेलाई कार्यक्रम स्थगित गर्न वा मिति सार्न आग्रह गरेका थिए ।

तर, कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बोधन गर्ने प्रचार गरेको एमालेले आग्रह अस्वीकार गर्‍यो भने मोर्चाले सभा बिथोल्न लाठी, तीर, खुकुरीसहितका कार्यकर्ता परिचालन गर्‍यो । युवासंघको सभास्थलतिर लागेका मोर्चाका कार्यकर्तालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्ने क्रममा बीभत्स घटना भयो । मोर्चाका कार्यकर्ताले तीर हानेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

२०६३ को मधेश आन्दोलनमा मोरङमा सात जनाको ज्यान गएको थियो भने २०६४ मा बन्द र कफ्र्यूले आक्रान्त बनेको थियो । यस पटकको आन्दोलनमा पाँच महीनासम्म कसैको ज्यान गएको थिएन । कर्फ्यू पनि लागेको थिएन ।

हिंसाको पूर्वानुमान
५ माघमा इलाका प्रहरी कार्यालय रंगेलीमा भएको सर्वदलीय छलफलमा एमालेलाई कार्यक्रम स्थगित गर्न आग्रह गरिएको थियो । ६ माघमा जिल्ला प्रशासन कार्यालय विराटनगरमा भएको अर्को सर्वदलीय छलफलमा पनि त्यही आग्रह दोहोर्‍याइएको थियो । “बैठकमा सहभागी सबैले ठाउँ वा मिति सार्न या स्थगित गर्न भनेका थिए” प्रमुख जिल्ला अधिकारी तोयम राय भन्छन् ।

तर, एमालेको युवासंघले पहिले तोकिएको स्थान भन्दा अलिकति पश्चिममा इप्रका अगाडि मञ्च बनायो । मोरङ एमालेका अध्यक्ष महेश रेग्मी मोर्चालाई पनि कार्यक्रम गर्न सजिलो होस् भनेर ठाउँ सारिएको तर, अरू पार्टीले रंगेली पस्नै हुँदैन भन्ने जस्तो व्यवहार भएको बताउँछन् । हुन पनि, सभास्थल जाने बाटो बन्द गर्न बसेका मोर्चाका कार्यकर्ताले रंगेलीबाट पूर्वको डाइनियामा युवासंघको कार्यक्रममा हिंडेका दुई वटा बस जलाए ।

मोरङ प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्साल समयमै प्रहरी नपुगेको भए त्यहाँ ठूलो क्षति हुने बताउँछन् । डाइनियामा बसबाट ओर्लेर भागेका एमाले समर्थकहरुलाई जोगाउन प्रहरीले गोली चलाउनुपरेको थियो । त्यही वेला शिवु माझी र रंगेलीको सभास्थलतिर बढेका मोर्चा समर्थकको समूहसँग झडप हुँदा प्रहरीको गोली लागेर द्रौपतीदेवी चौधरीको मृत्यु भयो । गोली लागेका एक घाइते महादेव ऋषिदेवको उपचारका क्रममा विराटनगरमा मृत्यु भयो ।

घटनापछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा तीन जनाको मृत्यु र ३५ भन्दा बढी कार्यकर्ता घाइते भएको जनाएका छन् । फोरमका मोरङ प्रवक्ता जितेन्द्र यादवले प्रशासन समेतको आग्रह लत्याउँदै एमालेले रंगेलीमा नरसंहार गरेको आरोप लगाए ।

मोरङ प्रहरी प्रमुख एसपी लम्साल भने आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गरेपछि बल प्रयोगको अवस्था आएको बताउँछन् । उनी भन्छन्, “आन्दोलनकारीले प्रहरीमाथि लाठी, भाला र तीर बर्साउन थालेपछि आत्मरक्षाका लागि गोली चलाउनु पर्‍यो ।”

युवासंघका केन्द्रीय सचिव तथा जागरण अभियानका मोरङ उत्प्रेरक पर्शुराम बस्नेत मधेशका जनतालाई संविधानको विषयमा जानकारी गराउन सभा गर्ने तयारी भएदेखि नै आक्रमणको प्रयास भएको बताउँछन् । सभाको तयारीका क्रममा रंगेलीमा सात दिन सरसफाइ, बैठक, कोणसभा, रक्तदान गर्दा सातै दिन आक्रमणको प्रयास भएको उनको दाबी छ ।

एमालेलाई समस्या
मधेशी मोर्चाको प्रभाव क्षेत्र रंगेलीमा युवासंघको सभा गर्न सहयोग गर्ने एमालेका रंगेली नगर अध्यक्ष मनोज अग्रवालको घरमा ६ माघमा ढुंगामुढा र पसल तोडफोड भयो । एमालेका रंगेली इलाका अध्यक्ष दिनेश ठाकुर र मोरङ ४ नम्बर क्षेत्रीय सह–इन्चार्ज सन्तोष साहको घरमा पनि ढुंगमुढा भयो ।

७ माघ दिउँसो ठाकुर, उनकी श्रीमती उषा झ, कार्यकर्ताद्वय बसन्त कर्ण र कपिलमणि मण्डललाई मोर्चा कार्यकर्ताले कुटपिटको प्रयास गरे । भागेर अनिल महेश्वरीको घरमा लुकेका उनीहरुलाई प्रहरी आएर उद्धार ग¥यो । तीनै जनाको परिवार विराटनगर आएर बसेको छ । मोरङका एमाले अध्यक्ष रेग्मी रंगेलीका एमाले समर्थकहरु अहिले कोही छरछिमेक त कोही विराटनगरमा लुक्नुपरेको बताउँछन् ।

रंगेलीको सभामा एमालेका महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेल, वैकल्पिक केन्द्रीय सदस्य तैयव हुसेन, खेलकुद मन्त्री सत्यनारायण मण्डल, युवासंघका संयोजक राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेत र प्रधानमन्त्री ओलीका जनसम्पर्क विज्ञ निरु पाललगायतले सम्बोधन गरेका थिए । उनीहरु प्रहरी सुरक्षामा विराटनगर फर्केका थिए ।

मोरङ प्रशासनले ९ माघमा घटनाको सत्यतथ्य बुझन र आन्दोलनकारीसँग छलफल गर्न एमाओवादीका सांसद् शिवकुमार मण्डलको संयोजकत्वमा गठन गरेको समितिलाई मधेशी मोर्चाले अस्वीकार गरेको छ ।

दमन गर्ने गृह मन्त्रालय सम्हालेको पार्टीका सांसद्को संयोजकत्वमा गठित समितिलाई स्वीकार्न नसकिने मोर्चाको भनाइ छ । मण्डलले भने आफू पार्टी प्रतिनिधि भन्दा पनि रंगेली क्षेत्रको निर्वाचित जनप्रतिनिधि भएकाले संवाद गर्न चाहेको बताए । “प्रधानमन्त्रीको बोली र गृहमन्त्रीको रवैया खेदजनक छ”, मण्डल भन्छन्, “तर, संवाद समितिलाई नमान्ने कुरा पनि कम खेदजनक छैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>