समाचारबुधबार, माघ १३, २०७२
रामविनेश हत्याका आरोपी पुर्पक्षका लागि थुनामा
वीरगञ्ज–२६ का रामविनेश कुशवाहाको हत्याको आरोपमा पक्राउ परेका संघीय समाजवादी फोरमका क्षेत्रीय सदस्य अमर यादवलाई जिल्ला अदालत, पर्साले पुर्पक्षका लागि जेल चलान गर्न आदेश गरेको छ ।
१० कात्तिक विहान वीरगञ्जको जगरनाथपुर चोकमा मृत अवस्थामा फेला परेका वीरगञ्ज–२६ सबैठवा टोलका २० वर्षीय रामविनेश कुशहवाको हत्याको आरोपमा उनका दाजु दिनेशप्रसाद कुशवाहाले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साले अमर यादवसहित जगरनाथपुर टोलका अन्य ९ जनामाथि कर्तव्य ज्यानको मुद्दा चलाएको थियो ।
१३ पुसमा अमर पक्राउ परेका थिए भने अन्य आरोपीहरु अझै फरार छन् ।
११ र १२ माघ दुई दिन पर्सा जिल्ला अदालतमा चलेको बयान तथा बहस भएपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।
जारी मधेश आन्दोलन र नाकाबन्दीका बेला मोटरसाइकलमा यात्रु ओसार्ने काममा संलग्न कुशवाहलाई त्यसअघि आन्दोलनकारीले बन्दका बेला मोटरसाइकल चलाएको भन्दै धम्की समेत दिएका थिए ।
ना ३४ प ११२८ नम्बरको मोटरसाइकलमा सवार भई घरबाट निस्किएका उनको शव घाँटी र छातीमा चोट लागेको अवस्थामा जगरनाथपुर चोकमा फेला परेको थियो ।
-सुरेश विडारी, वीरगञ्ज