समाचारबिहीबार, माघ १४, २०७२
दुई महिनामा एकै टोलका २६ जनाको मृत्यु
पर्साको पोखरीया–४ सतवरीया टोलमा पछिल्लो दुई महिनाभित्र २६ जनाको मृत्यु भएपछि गाउँले त्रसित छन् । देउता रिसाएको भन्दै कोही पूजा–पाठमा व्यस्त छन्, कोही झारफूकमा भने कोही साधु–बाबाका पछाडि दौडिएका छन् ।

मृत्यु भएका २६ जना मध्येका मकसुद मियाका नाति झ्यालबाट चिहाउँदै ।
दुई महिनाभित्रै २६ जनाकोे मृत्यु भएपछि गाउँमा त्रास फैलिएको स्थानीय राजेश्वर ठाकुरले बताए । अधिकांश गाउँलेहरु देउता रिसाएर वा कुनै दुष्टात्माको प्रकोपले गाउँमा महामारी फैलिएको दाबी गर्छन् । गाउँलेहरुले भागवत पाठको समेत तयारी गरेका छन् ।
मृत्युको कारण भने एउटै छैन ।
सतवरीयामा धेरैको मृत्यु भएको खबर पाएपछि घरघरै पुगेर जानकारी लिएको जनस्वास्थ्य कार्यालयको टोलीले गाउँमा कुनै महामारी फैलिएको नभई विभिन्न रोगका कारण मृत्यु भएको जनाएको छ ।
टोलीको प्रतिवेदनले अलग अलग कारणले मृत्यु भएकोले गाउँमा महामारी नफैलिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
मृत्यु हुनेमा नबजात शिशुदेखि १०२ वर्षका वृद्ध समेत छन् ।
जन्मदेखि १२ वर्ष उमेर समूहका ८ जना १२ देखि ५५ वर्ष उमेर समूहका ६ जना र ५५ देखि १०२ वर्ष उमेर समूहका १२ जनाको पछिल्लो दुई महिनामा मृत्यु भएको हो ।
मृत्यु भएका बालबालिकामध्ये तीन जनाको झाडापखाला (कोल्ड डायरिया), एक जना कम तौलको जन्मेका कारण, दुई जना ‘सिडस्’ (सडेन इन्फ्यान्ट डेथ सिन्ड्रोम) का कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको पोखरीया अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोसन चौरसीयाले बताए ।
यद्यपी विरामीले निरन्तर औषधि सेवन गरे–नगरेको, रोगले च्यापिसकेपछि मात्रै औषधि लिएको हुनसक्ने र मृत्यु हुनभन्दा अघि रोगीको अवस्थाबारे थाहा नभएको उनले बताए ।
उनले भने “‘सिडस्’ बाट मृत्यु भएका परिवारसँग बुझ्दा राति मज्जाले बच्चा दुध खाई सुतेको छ, विहान जगाउदाँ मृत्यु भएको पाईएको छ ।”
ज्यान गुमाउनेमध्येकी २२ वर्षीया धनवंती देवीको प्रसुतिका बेला अत्याधिक रक्तस्राव भएर मृत्यु भएको र आमाको मृत्यु भएको केही बेरमै बच्चाको समेत मृत्यु भएको उनका श्रीमान ललन रामले बताए ।
चिसोकै कारण १२ दिनका प्रदुमन चौहानको समेत मृत्यु भएको चिकित्सकले बताएका छन् ।
अन्यलाई टाउको दुख्ने, पक्षघात, मानसिक समस्या, दम, किडनीको रोग, क्यान्सरबाट मृत्यु भएको बुझिए पनि मृत्यु हुनुअघि विरामीलाई स्वास्थ्य संस्थामा नलगिएकाले मृत्युको एकिन कारण थाहा पाउन गाह्रो हुने जनस्वास्थ्य अधिकृत राजकिशाोर प्रसादले बताए ।
“गाउँलेमा चेतनाको अभाव, अन्धविश्वास छ, त्यसले पनि रोगको संक्रमण हुने र उपचार नपाई मृत्यु भएको हुनसक्छ,” उनले भने ।
जियालाल साह, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
