समाचारशनिबार, माघ १६, २०७२

‘असहमति भए पुनःवार्तामा बसौँ’

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै असहमति र गुनासा भए वार्ता र संवादबाटै तिनको समाधान गर्न सकिने भएकाले एक पटक फेरि वार्तामा आउन सम्बद्ध सबै पक्षलाई आह्वान गरेका छन् ।

शहीद दिवसका अवसरमा आज दिएको सन्देशमा प्रधानमन्त्री ओलीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतलाई लक्ष्य गर्दै संविधान जारी हुनुअघिदेखि नै मुलुकमा सिर्जना गरिएका समस्या क्रमशः सम्बोधन हुँदै आएको र यही ९ माघ मा संविधानमा भएको पहिलो संशोधनबाट राजनीतिक असहमतिलाई विभिन्न चरणमा हल गर्ने प्रक्रिया आरम्भ भएको उल्लेख गरे ।

“यसबाट संविधानसम्बन्धी सबैको चासो क्रमशः सम्बोधन हुँदै जाने विश्वास म यस अवसरमा दिलाउन चाहन्छु, हामीबीच कुनै असहमति र गुनासा छन् भने वार्ता र संवादबाटै तिनको समाधान गर्न सकिने भएकाले एक पटक फेरि म सम्बद्ध सबै पक्षलाई वार्ता र संवादमा आउन आह्वान गर्दछु”– प्रधानमन्त्रीले भनेका छन् ।

उनले प्रजातन्त्रको स्थापनाका लागि आफ्नो जीवन बलिदान गर्ने शहीद गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलगायत सम्पूर्ण ज्ञातअज्ञात शहीदमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै एकतन्त्रीय जहानियाँ शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाई प्रजातन्त्रको स्थापनाका लागि अमर शहीदले आफ्नो प्राणको आहुति दिएको स्मरण गरेका छन् ।

यस्तै शहीदले देखाएको बाटोमा अघि बढ्ने प्रण गर्न सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले बलिदानको उच्च सम्मान र भावनाको कदर गर्दै उनीहरुको सपनालाई साकार पार्दै अघि बढ्न सरकार प्रयत्नशील रहँदै आएको जनाएका छन् ।

लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, राष्ट्रिय एकता तथा अखण्डताको पक्षमा सरकार सधैँ दृढ रहने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>