अन्तर्वार्ता/विचारबिहीबार, मंसिर १४, २०६९
‘खै के भन्ने बाबुरामजीलाई !’
मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवसँग हिमालखबरले समसामयिक राजनीतिक विषयमा गरेको संक्षिप्त कुराकानी
राष्ट्रपतिले तोकेको समयसीमा आज सकिंदै छ, दलहरुबीच सहमति भएन नी ?
राष्ट्रपतिको आह्वानमै केही खोट भएपनि सहमतिको सरकार गठन होस्, मुलुकले संकटबाट निकास पाओस्, निर्वाचन होस र मुलुक लोकतान्त्रिक पद्दतिमा अगाडि बढोस भन्ने मनसायले गर्नुभएकोले उहाँको आह्वान सही छ । अब थपिएको समयमा दलहरुले सहमतीय सरकार गठन गर्न सक्नुपर्छ ।
आह्वानमा खोट छ भन्नुभयो, के हो त्यो खोट ?
पहिलो त उहाँले आह्वान गर्नुअघि सबै दलहरुसँग छलफल गर्नुपपर्थ्यो, जुन भएन । दोस्रो, उहाँले संविधानको धारा ३८ (१) उल्लेख नगर्नुपर्थ्यो । धारा ३८ (१) अनुसार सहमति भएन भने ३८ (२) मा जाने ठाउँ छैन । र पनि, उहाँको मनशाय चाहीं गलत छैन ।
मन्त्रिपरिषदले त यसलाई संविधान विपरित भन्यो नि ?
त्यो उद्दण्डता हो । आफैं वैधानिकता र नैतिकता गुमाइसकेको भ्रष्ट सरकारले त्यसो भन्ने ठाउँ नै छैन । बाबुराम भट्टराई मन्त्रिपरिषद्ले अरु केही समय सत्तामा टिक्न निहुँ खोजेको मात्रै हो ।
प्रधानमन्त्री त अंझै पनि सहमति गरौं, मेरै नेतृत्वमा निर्वाचनमा जाउँ भन्दै हुनुहुन्छ नि ?
खै के भन्ने बाबुरामजीलाई ! उहाँ पढेलेखेको मान्छे तर, नैतिकता रहेनछ । संविधान सभा जीवितै छँदा अरु कुनै विकल्प नखोजी, चुनावका लागि आवश्यक व्यवस्था नगरि सत्ता मात्र जोगाउन निर्वाचनको घोषणा गर्ने अनी त्यही निर्वाचन पनि गराउन नसक्ने सरकारको वैधानिकता र नैतिकता अब कहाँ बाँकी रह्यो ? मुलुकमा शान्ति, सुशासन छैन, मन्त्रिहरु नै भ्रष्टाचारले गन्हाउने भइसकेका छन् । अनी यही सरकारलाई अनन्तकालसम्म टिकाइ राख्ने ?
विकल्प के त ?
दलहरुले सहमति गर्नसक्नुपर्छ । कुनै एउटा व्यक्तिमा साझा समर्थन जनाउनुपर्छ । राजनीतिक दलबीचबाट त्यस्तो व्यक्ति आउन सकेन भने तटस्थ व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्छ । अबको निकास दिने निर्वाचनले नै हो । तर वर्तमान सरकाबाट यो सम्भव छैन ।
नेतृत्वमा तपाईंको दलबाट दाबी हुँदैन ?
अहिले मुलुकलाई निकास चाहिएको हो । निर्वाचन र सुशासन चाहिएको हो । हाम्रो दलबाट प्रधानमन्त्री बन्ने वा मन्त्रिपरिषदमा सहभागी हुने महत्वपूर्ण कुरा होइन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
