थप समाचारशनिबार, माघ १६, २०७२
सर्वसाधारणका सिडिओ
सरकारी सेवा गाउँकेन्द्रित बनाउने अभियानमा जुटेका गुल्मीका सिडिओ प्रदीपराज कणेल इमानदार राष्ट्रसेवकका रुपमा सम्मानित भएका छन्।

प्रजिअ प्रदीपराज कणेललाई सम्मान गर्दै उपप्रधानमन्त्री चित्रबहादुर केसी।
इच वान टीच वान– प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रदीपराज कणेलको यस्तो अभियान सुन्दा शुरुमा त पाँचथरका सरकारी अधिकारी मुखामुख गर्न थाले। कतिपयले सिडिओको यो नारालाई लोकरिझ्याइँका लागि मात्रै भएको आरोप पनि लगाए।
तर, हरेक शिक्षित कर्मचारीले कम्तीमा एक जना निरक्षरलाई अक्षर चिनाउने यो अभियानबाट करीब १५ हजार साक्षर बने। सिडिओ सही ठहरिए। सोलुखुम्बु जिल्लामा रहँदा यिनै सिडिओले सरकारी कार्यालयमा खोजेका कागजात तुरुन्तै भेटिने ‘टच टु फाइन्ड’ अभियान घोषणा गरे। सुन्दै कठिन लाग्ने यो अभियानबाट सोलुवासीलाई ठूलै राहत पुग्यो।
तीन महीनाअघि मात्रै सरुवा भएर गुल्मी पुगेका कणेलले ध्वनि बडापत्र, जिल्लामा गुड्ने लामो दूरीका यातायातमा टाइम कार्ड, सरसफाइ अभियान चलाएका छन्। जिल्लामा कपडा भएकाले नभएका मानिसलाई दिनको लागि उद्योग वाणिज्य संघ, गुल्मीको सहकार्यमा ‘क्लोथ ब्यांक’ अभियान थालेका छन्।
सरकारी सेवा सिर्जनाभन्दा जागीर खाने थलो बनेका वेला २६ वर्षअघि सेवामा प्रवेश गरेका जुडिबेला, रौतहटका प्रदीपराज कणेल (५०) को धार भने फरक छ। स्थानीय सरकार शहर र सुविधामुखी भएका वेला उनी भने गाउँकेन्द्रित सरकारका पक्षमा छन्। “सोझा गाउँलेका समस्या बुझेर उनीहरुलाई प्रोत्साहित गर्नु नै कर्मचारीको कर्तव्य हो”, हिमाल, पहाड र तराईका सात जिल्लाका प्रजिअ बनिसकेका उनी भन्छन्।
उनै कणेल यस वर्ष उत्कृष्ट निजामती कर्मचारी पुरस्कार ‘इन्टिग्रिटी आइडल नेपाल’ बाट सम्मानित भएका छन्। पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय सामाजिक संस्था एकाउन्टबिलिटी ल्याबले गत साता उनलाई ५५८ आवेदकबाट उत्कृष्ट छानेको हो। आवेदकमध्येबाट अनलाइन तथा एसएमएस भोटिङका आधारमा कणेललाई विजेता छनोट गरिएको थियो।
आफूले पाएको सम्मानलाई कणेल ‘नागरिकले दिएको सम्मान’ ठान्छन्। उनी भन्छन्, “इमानदार भएर काम गर्न थप बल मिलेको छ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
