थप समाचारआइतबार, माघ १७, २०७२

‘चलचित्रले मलाई बोकेन, मैले धान्नु पर्‍याे’ (राजेश हमालसँगकाे अन्तर्वार्ता)

हिमालखबर

नेपाल चलचित्रका चर्चित अभिनेता राजेश हमाल नेपाली समाजमा शालीन, आत्मविश्वासी र बौद्धिक देखिन्छन् । फिल्म खेल्न थालेको २५ वर्षपछि उनको अनुहारकै भरमा फिल्म चल्न छाड्दै गर्दापनि उनी यही क्षेत्रमा नयाँ किसिमको भुमिका खोजिरहेका छन् । नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहारका ‘हिरोहरु’को आगमन र फिल्मको शैली परिवर्तनबारे उनीसँग हिमाल खबरपत्रिकाका लागि डम्बरकृष्ण श्रेष्ठले गरेकाे कुराकानीः

raj

तस्वीरहरु विक्रम राई

पछिल्लो फिल्म ‘वागमती’ किन चलेन ?
‘युगदेखि युगसम्म’ देखि ‘वागमती’ सम्म आइपुग्दा नेपाली समाजको भोगाइ, हेराइ, बुझाइमा ठूलो परिवर्तन आइसकेको छ । ‘वागमती’ मा धेरै मिहिनेत गरे पनि नयाँ स्वाद खोजिरहेका दर्शकले रुचाएनन् । यसको ‘कन्टेन्ट’ मै समस्या भयो ।

फिल्मी जीवनको २५ वर्ष सम्झिंदा कस्तो लाग्छ ?
सिनेमामा हिरोका रूपमा निरन्तर २५ वर्ष काम गर्न सक्नुलाई म आफ्नो सफलता ठान्छु । अभिनय थालेदेखि विश्राम लिएको छैन । एक साल त २२ वटा फिल्ममा काम गरें । शुरुमा कहाँसम्म पुग्छु, को जस्तो हुन्छु भनेर सोच्ने परिवेश थिएन । कुनै ‘रोल मोडल’ पनि थिएन । वर्षमा एक-दुई चलचित्र बन्थे । विस्तारै चलचित्र क्षेत्र विस्तार हुँदै जाँदा जसो–तसो मेरो करिअर पनि अघि बढ्यो ।

थोरै तर राम्रा चलचित्रमा काम गर्नुपर्नेरहेछ जस्तो लाग्दैन ?
मैले काम थाल्दा चलचित्र नै बन्ला कि नबल्ला भन्नेमा टाउकोदुखाइ थियो । चलचित्र नै नबनिदिएको भए मेरो कलाकारिताको केही अर्थ हुन्नर्थ्यो । पहिलो चरणको जिम्मेवारी पनि थियो– जति चलचित्र बन्छन्, बनून् । धेरै चलचित्रमा काम गर्दा मसँगै अरुले पनि काम पाउँथे र दक्ष जनशक्ति उत्पादनमा पनि सघाउ पुग्थ्यो । त्यो वेला क्यामरा म्यान, मेकअप म्यानहरू बम्बईबाट ल्याउनुपर्थ्याे ।

अहिले आफूलाई कुन ठाउँमा पाउनुहुन्छ ?
कलाकारले आफूलाई कहिल्यै एउटा परिधिमा बाँधेर राख्दैन । कलाकारलाई आकार दिने काम निर्देशक र दर्शकले गर्छ । यस अर्थमा, समाज अनुसारकै चलचित्र बन्छन् । मेरो दुर्भाग्य चाहिं के भइदियो भने, चलचित्रले मलाई होइन मैले चलचित्रलाई धान्नु पर्‍यो । म चाहन्छु– अब चलचित्रले मलाई बोकोस् । अहिले दर्शकलाई राजेश हमाल हेर्न सिनेमा हल पुगिरहनुपर्दैन । म टेलिभिजन कार्यक्रमदेखि अनलाइन मिडियासम्म देखिइरहेकै हुन्छु । अब चलचित्रको ‘कन्टेन्ट’ बलियो भयो भने मात्र दर्शकले मलाई हलमा समय दिन्छन् ।

मूलधारका भनिएका तपाईंका चलचित्र मल्टिप्लेक्समा नचल्नुको कारण ‘कन्टेन्ट’ मात्र हो ?
समाजमा भिन्दाभिन्दै दृष्टिकोण र स्वाद हुन्छ । फरक स्वाद चाहनेका लागि पनि फिल्म बन्नु राम्रो हो । फरक शैलीका नेपाली चलचित्र बनेर मल्टिप्लेक्समा हिन्दी मात्र हेर्न आउने दर्शकलाई आकर्षित गर्नु पनि राम्रो हो । तर, त्यस्ता फिल्म आम दर्शकलाई ‘बोरिङ’ पनि लाग्न सक्छ । सबैले ‘युनिभर्सल अपील’ भएका चलचित्र बनाउन सक्दैनन्, यो चुनौती छ ।

नेपाली निर्देशकहरू परिमार्जित नभएका हुन् ?
फिल्मको कन्टेन्टलाई मजबूत पार्ने जिम्मेवारी निर्देशककै हो । किनकि पर्दामा आउनुअघि नै उसको दिमागमा फिल्म तयार भइसकेको हुन्छ । कलाकार एउटा औजार मात्र हो । चलचित्र क्षेत्रले विश्वमा ठूलो फड्को मारेकाले हाम्रा निर्देशकहरूले आफूलाई अपडेट गराउनै पर्छ ।

22तपाईंका सबै फिल्ममा एकै खालको अभिनय भयो भनिन्छ नि ?
मैले जति विविधता भएका भूमिका अरु कमै कलाकारले गरे होलान् । मैले ‘लभर ब्वाई’ र ‘एङ्ग्री यङमेन’ देखि ऐतिहासिक पात्रको भूमिका गरें । लुक्स र चरित्रमै फरक हुन त चलचित्रको धार अलग हुनुपर्‍यो । सरसर्ती हेर्दा ७०-८० को दशकका अमिताभ र राजेश खन्नाका फिल्ममा फरकपन देखिन्न, तर उनीहरूका आ–आफ्नै स्टाइल थिए ।

अब विश्राम लिने वेला भएको हो ?
कुनै पनि क्षेत्रमा २५-२६ वर्ष लागेपछि मान्छे अवकाशमा जानुपर्ने हुन्छ भने कुनै कलाकार अजम्बरी हुँदैन । तर, मैले अझै केही समय यो क्षेत्रबाट अलग्गिने सोच बनाएको छैन । कुनै कथाले तान्यो भने फिल्म निर्देशन पनि गर्ने विचारमा छु ।

तपाईंले फिल्म खेल्न थाल्दा जन्मेका र स्कूल पढिरहेकाहरू अहिले हिरो छन् । नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्नुपर्दा अनौठो लाग्दैन ?
मेरो फिल्मी करिअर भन्दा कान्छो व्यक्तिहरूसँग आज तुलना हुन्छ भने त्यो मेरो सफलता हो । म यो चुनौती सामना गर्दै उनीहरूसँग काम गर्न रुचाउँछु, नयाँ कुरा दिन चाहन्छु । मैले हरेक तीन-चार वर्षमा यो आयो त्यो गयो भन्ने सुन्दै आएको छु । आउने र जानेबाट मलाई कुनै ‘थ्रेट’ पनि छैन, प्रतिस्पर्धा पनि छैन । धेरै उतारचढाव बेहोरे पनि मैले कहिल्यै प्रतिस्पर्धा महसूस गरिनँ । यद्यपि म सबै कुरामा ठीक छु भन्दिनँ ।

तपाईंले सौगात–दयाहाङसँग पनि एउटै फिल्ममा काम गर्नुभयो । नाटक पनि गर्नुभयो । नयाँहरूसँगको अनुभव कस्तो छ ?
उहाँहरूमा कलाकारिता, अभिनयप्रति बढी गाम्भीर्य देखेको छु । त्यसैले उहाँहरूका चलचित्रहरूले राम्रो छाप छाडिरहेका छन् । उहाँहरूमा फलानो हिरोको कपी गरेर ऊ जस्तै बन्ने चाह छैन । आफूभित्रको कलाकारिताको भोक मेटाउन लागिपरेको देखिन्छ । उहाँहरूसँग काम गरेको ‘मुखौटा’ मा मेरो सानो भूमिका थियो । दयाहाङ र मलाई नै केन्द्रमा राखेर कुनै फिल्म बन्यो भने पनि नगर्ने कुरै छैन ।

11

(नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहारका ‘हिरोहरु’को आगमन र फिल्मको शैली परिवर्तनबारेमा अावरण रिपाेर्टका लागि १७–२३ माघ २०७२ काे हिमाल खबरपत्रिका हेर्नुहाेला)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>