रमझमसोमबार, माघ १८, २०७२
पशुपतिप्रसाद स्वादिलो मौलिक सिनेमा
भनिन्छ– सिनेमाले जीवन कथा भन्न सक्नुपर्छ । पशुपतिप्रसादले नेपाली समाजका दुखिया पात्रहरूको जीवन कथालाई आफूमा समेटेको छ ।
पशुपतिप्रसाद– झट्ट सुन्दा यो नामले दर्शकलाई सिनेमा हलमा तान्ला जस्तो लाग्दैन । सिनेमाको नायकलाई सानोमा आफैलाई मन नपर्ने यो नामकै कारण धेरैलाई ‘पशुपतिप्रसाद’ नामैले आकर्षणहीन जस्तो सिनेमा लाग्न सक्छ । तर सिनेमा हेरिसकेपछि भन्न कर लाग्छ– पशुपतिप्रसाद भन्दा उपयुक्त नाम अर्को हुनै सक्दैन । सिनेमाको स्वाद मौलिक र मीठो लाग्छ, आफ्नै बारीमा गोबर हालेर उमारेको चम्सुर–पालुङ्गो जस्तो ।
पशुपतिनाथ मन्दिर वरपर भेटिने पात्रको वास्तविक झैं लाग्ने जीवनकथा बोकेको यो सिनेमाको केन्द्रीय पात्र हो– पशुपतिप्रसाद । दुःखका आफ्नै पीडा र व्यथा, अनगिन्ती चाहना र सपना बोकेर गाउँबाट पैसा कमाउन शहर पसेको एउटा केटो; सिनेमाको मुख्य पात्र पशुपतिप्रसादको रुपमा खगेन्द्र लामिछाने देखा परेका छन् ।
आफ्नो मुख्य भूमिका रहेको अघिल्लो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ मा खगेन्द्रले आफूभित्रको प्रतिभालाई विशिष्ट शैलीमा प्रस्तुत गर्दै साँच्चैको अभिनय क्षमता देखाएका थिए । ‘पशुपतिप्रसाद’मा खगेन्द्रको त्यो प्रतिभा अझ माझिएर, तिखारिएर आएको छ ।
पशुपतिप्रसाद सिनेमाको नायक लाग्दैन, आफ्नै छिमेकको ठिटो जस्तो, आफन्त जस्तो लाग्छ । त्यो पात्र तपाईंको मनको एउटा कुनामा बस्छ र आफ्नो लागि ठाउँ बनाउँछ । आफ्नो मौलिक कथ्य, सलल बगेको पटकथा र स्वादिला संवादहरूले ‘पशुपतिप्रसाद’ हेर्नलायक सिनेमा बनेको छ । पटकथा र संवाद यसको महत्वपूर्ण विशेषता हो । राम्रो सिनेमाका लागि कथा र स्क्रिप्ट निर्णायक पक्ष हो भन्ने कुरालाई पशुपतिप्रसादले सावित गरिदिएको छ ।
सिनेमाका अरु पात्रहरू पनि जीवन्त र हाम्रै परिवेशका सामान्यजन झैं लाग्छन् । पटकथाले केन्द्रीय भूमिकामा पशुपतिप्रसादलाई राखे पनि मीत बा, वृद्धाश्रममा बसेकी महिला, पशुपतिका दाउरा जम्मा गर्ने केटाहरू, ठेलावाला व्यापारी र हनुमान पात्रका उपकथाहरूलाई पनि सिनेमाको मूल पात्रको कथासँग गाँसेको छ । प्रत्येक पात्रहरू स्वाभाविक र सहज लाग्छन् ।
मीत बाको रुपमा प्रकाश घिमिरे, बुनुको भूमिकामा वर्षा शिवाकोटी, आमाको रुपमा मिश्री थापा, भष्मेको रुपमा विपिन कार्की र ठेला व्यापारीको भूमिकामा आशिष अधिकारीको अभिनय जमेको छ । हनुमान पात्रको रुपमा रवीन्द्र बानियाँको स्वर, शरीर सञ्चालन र हाउभाउ मात्रको अभिनयले पनि दर्शकको ध्यान खिच्छ ।
जीवनको कथा नभन्ने सिनेमा दर्शकको स्मृतिमा रहन्न । जीवनले मान्छेलाई भोगाइका अनगिन्ती अवसर दिन्छ र ती अवसरले अनुभूति र अनुभवका थुप्रै श्रृंखला निर्माण गर्छन् ।
सिनेमा कला र प्रविधिको एउटा यस्तो संगम हो, जसले अनेकौं जीवनका विविध पक्षसँग कलात्मक साक्षात्कार गराउँछ । सिनेमाले मानिसको जीवनबाट कथा, प्रेरणा र आधार लिन्छ, तर त्यसलाई कलात्मक रंग, चेतना र दृष्टिकोणसहित विशिष्ट रुपमा प्रस्तुत गर्छ । पशुपतिप्रसादले नेपाली समाजका दुखिया पात्रहरूको जीवनकथालाई आफूमा समेटेको छ ।
हजारौं मानिस अनगिन्ती सपना बोकेर काठमाडौं आइपुग्छन् । यो महानगरको भिडमा मिसिन आइपुग्ने हजारौं ती पात्रमध्ये केही आफ्ना सपना पुरा गर्न सफल हुन्छन् भने धेरै चाहिँ पशुपतिप्रसादका पात्रहरू झैं दुखिया जीवनमै रहन्छन् । तर आफन्त खोज्ने, बनाउने र मानवीय सम्बन्ध गाँस्न चाहने तिनका स्वाभाविक आकांक्षा जीवन जिउने निरन्तरको भागदौडमा जीवन्त भएर देखा पर्छन् ।
समकालीन समाजमा प्रविधिको विकास र विस्तारसँगै सिनेमा मान्छेको जीवनसँग झन्–झन् गाँसिदैछ । समाज परिवर्तनको गतिलाई सिनेमाले प्रभावकारी रुपमा प्रस्तुत गर्दै आएका पनि छन् । पशुपतिप्रसाद नेपाली सिनेमा निर्माणमा देखापरेको परिवर्तनको एउटा महत्वपूर्ण संकेत हो । यसले सिनेमा निर्माणमा नयाँ शैली र नायकको नयाँ बिम्ब निर्माण गरेको छ ।
पशुपतिप्रसादको केन्द्रिय भूमिकासँगै दीपेन्द्रको कथालाई पटकथा र संवादमा ढाल्न समेत सफल देखिएका छन्, खगेन्द्र । नेपाली सिनेमा क्षेत्रमा प्रतिभाशाली युवा निर्देशकको छबि बनाएका दीपेन्द्र के खनालबाट अझ राम्रा सिनेमाको अपेक्षा गर्न सकिने आधार पशुपतिप्रसादले दिन्छ ।
पशुपतिनाथ मन्दिर, छेउमै बग्ने वागमती, त्यस वरपरको वातावरण र त्यही परिवेशमा देखा पर्ने पात्रहरूको जीवन्त कथा बोल्ने यो सिनेमा सपरिवार हेर्दा अझ बढी जीवन्त अनुभूति हुनेछ ।