ब्लगमंगलबार, माघ १९, २०७२

सिनेमामा बदलिंदो अनुहार

प्रकाश साय्मी

नायकमा चाहिने सुन्दरता, अनौठोपन, सादगीपन सदैव कायम रहन्छ। यसको माग–उपयोग कुन बाटो–तरीकाबाट हुन्छ भन्नेमा विचार पुर्‍याउने हो।

सिनेमामा दुई दृष्टिकोण हुन्छ– निर्देशक दृष्टिकोण र दर्शकको दृष्टिकोण। निर्देशकले स्थापित गरेको दृश्यिक स्थायित्वको सिद्धान्त वा त्यसको धरातलमा बनेका मान्यतालाई कहिलेकाहीं दर्शकले अस्वीकृत गरिदिन्छन्।

सिनेमामा नायक पनि निर्देशकको चयनबाट आउँछ, तर निर्देशकले छानेको सबै नायकलाई दर्शकले स्वीकार गर्छन् भन्ने हुँदैन। बलिउडमा हड्डी बिल्डर (बडीविल्डरको व्यंग्यमा) भनेर फ्याँकिएका अमिताभ बच्चन फिल्म ‘आनन्द’ मा त्यस समयका उम्दा अभिनेता राजेश खन्नाको तुलनामा अत्यधिक लोकप्रिय भए।

नेपाली सिनेमाको प्रथम चरणका नायकद्वय शिवशंकर (आमा) र सीपी लोहनी (माइतीघर) नायक होइन, गायक बन्न आएका थिए, तर निर्देशकले तिनमा नायकीय गुण देखेर नायक बनाइदिए।

चल्यो, चलेनः नयाँ धारको दयाहाङ र सौगातको 'कबड्डी कबड्डी' सुपरहीट हुँदा पुरानै शैलीको राजेश र शिवको 'वागमती' भने फ्लप भयो।

चल्यो, चलेनः नयाँ धारको दयाहाङ र सौगातको ‘कबड्डी कबड्डी’ सुपरहीट हुँदा पुरानै शैलीको राजेश र शिवको ‘वागमती’ भने फ्लप भयो।

नेपाली सिनेमामा आएका शिवशंकरदेखि शिव श्रेष्ठसम्मका नायकमा निर्देशकहरूले खोजेको शारीरिक सौष्ठव, चेहरा, आवाज सबै थियो र नै छानिए। तिनका पछि आएका भुवन केसी, अर्जुनजंग शाही, उदितनारायण झा, विजय लामा, श्रवण घिमिरे, पूरण जोशी, प्रकाश अधिकारी आदि फरक–फरक शैलीका देखिए।

पर्दामा आएका सबै समयका नायकहरूलाई एउटा शीर्ष पात्रको रूपमा हेरिए पनि तिनमा अभिनयको अपेक्षा धेरै र प्राथमिकताको आधार कम थियो। यी नायकहरू नेपाली रजतपटमा स्थापित हुँदै गर्दा भारतमा film1नसीरुद्दीन शाह, ओम पुरी, अमोल पालेकर, रजनीकान्त जस्ता साधारण लाग्ने अनुहारहरू आफ्नो ‘स्पेस’ बनाउँदै थिए।

त्यतिवेला नेपाली चलचित्रलाई पनि ती र त्यस्ता अनुहारले आकर्षित नगरेको होइन, तर वर्षमा एउटा फिल्म बन्ने नेपालमा त्यस्तो अनुहारलाई चरित्र अभिनेता मान्ने चलन थियो। ‘परालको आगो’ का टंक शर्मा र ‘बाँच्न चाहनेहरू’ का किरण ठकुरी त्यही चलनको शिकार भए।

चलचित्रमा कुनै नायक छानिंदा उसको सामाजिक व्यक्तित्व र चारित्रिक छविबारे ‘गसिप’ उछालिन्छ, जसले उसको व्यक्तित्वलाई बृहत्तर बनाउँदै लैजान्छ। ‘गसिप’ मा आउँछ– यो फिल्मको नायक पर्दामा आउनुअघि समाजको तल्लो तप्काको व्यक्ति थियो। त्यसले दर्शकको सामाजिकतालाई पर्दामा कलाकारसित समीकरण गराउँछ।

अर्को हल्ला पनि आउँछ– यो नायक अर्कै केही बन्न चाहन्थ्यो र असफल भएर चलचित्रमा आयो। अब दर्शकहरूको निजी असफलता त्यही समानुभावमा जोडिन्छ। यसरी अधिकांश दर्शकले आफूले जीवनमा गर्न चाहेको र नसकेको कुरा पर्दामा खोज्ने हो।

अहिलेका नेपाली दर्शकले पर्दामा कुनै बाबुसाहेब वा लाठसाहेब नभई आमचरित्र हेर्न चाहेका छन्, जसमा आफ्नै भोगाइ, दुःख वा पीडा होस्। पर्दामा राम–रावण छविका नायक–खलनायक होइन, चोक–गल्लीतिर भेटिने ‘कमन् म्यान्’ देखिइनु अहिलेको परिवर्तनको साख हो।

यो परिवर्तनले पुरानो पारालाई ध्वस्त बनाएको छ, यो नै ठूलो सफलताको स्रोत नभए पनि। राजनीतिक परिवर्तन यसको प्रमुख कारण हो। २०६३–६४ सालको आन्दोलन पछि सुकिला–मुकिला र सम्भ्रान्त देखिनेहरूको कुराले भाउ पाउन छाड्यो र पर्दामा पनि त्यही भयो।

सिनेमाको उद्भव भएको फ्रान्समा शुरूदेखि नै नायकको छवि साधारणीकरणमै केन्द्रित रह्यो। सिनेमामा सर्वाधिक सफल मुलुक अमेरिकाले भने एउटा काँधमा बन्दूक र अर्को काँधमा सुन्दरी बोकेको नायकलाई सुहाउने बनायो।

यसमा हलिउडले विश्वलाई प्रभावित पार्‍यो र ओस्कार अवार्डसम्म प्रभावित भयो। हलिउडको वर्चस्व तोड्न रूस, चीन, जापान, इरान, कोरिया र भारत लगायतका कमनवेल्थका केही देश आबद्ध भएका छन्।

नेपाली सिनेमामा रंगमञ्चबाट र सिनेमा सम्बन्धी अल्पकालीन तालीम लिएका गरी दुई किसिमका नायकहरू आए। यी दुवैको नियन्त्रक निःसन्देह रूपमा निर्देशक नै थिए। विगतमा निर्देशकहरूलाई आर्थिक भार धेरै थियो। रिलमा शूटिङ्ग गर्नुपर्थ्यो, जसको पुनःप्रयोग सम्भव थिएन। ती कारणहरूले निर्माताको दबाबलाई अकाट्य बनाउँथ्यो।

अहिले शूटिङ्ग मेकानिकल बनेको छ। कलाकारहरूले शूटिङ्ग स्पटमा सिक्ने र सुधार गर्ने अवसर पाएका छन्। निर्देशकले स्वतन्त्रता र नायक–नायिकाले खुल्लापन पाएका छन्। राजनीतिक परिवर्तन, आर्थिक स्वतन्त्रता, प्रविधि र विशेषतः काठमाण्डूमा खुलेका नाट्यशालाहरूको शालीन हस्तक्षेपले नेपाली सिनेमामा परिवर्तन ल्यायो।

अहिले नाटक गर्ने अनेक संस्था र उनीहरूका फरक शैलीले कलाकारहरूलाई विशिष्टता प्रदान गरेको छ। अहिलेको पर्दामा तिनको प्रभाव त्यसरी नै परेको छ, जसरी पहिलेका सिनेमामा बालकृष्ण सम र रत्नदास प्रकाशका नाटकको परेको हुन्थ्यो।

अहिलेका नेपाली सिनेमाका भाव, स्वभाव, प्रभाव बदलिंदो छ। यसबाट नायकको छवि परिवर्तन भएको छ। ‘स्टारडम’ को छवि–छापबाट दर्शक टाढिएका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...