थप समाचारबुधबार, माघ २०, २०७२
फन्दामा प्रहरी
–कमल रिमाल, विराटनगर
धनकुटामा मौलाएको गाँजाखेतीमा जोडिएका प्रहरीमाथि कारबाही प्रक्रिया शुरू गरिएको छ।
गाँजाको खेती र कारोबारमा प्रहरीकै संरक्षण देखिएपछि कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवन खरेलको संयोजकत्वको छानबीन समितिको सिफारिशका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको हो।
समितिको सिफारिश अनुसार धनकुटाका प्रहरी प्रमुख एसपी विभूतिराज पाण्डेसहित १८ जना प्रहरी कारबाहीमा परेका छन्।
एसपी पाण्डेसहित १४ प्रहरीलाई नसिहत दिइएको छ। इलाका प्रहरी कार्यालय छिन्ताङका पूर्व प्रमुख प्रहरी निरीक्षक नारायण भट्टराई, प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाका प्रहरी सहायक निरीक्षक (असई) द्वय नरेश विक र लोकबहादुर धिमाल तथा जिल्ला प्रहरी कार्यालयका असई शिव शर्मालाई निलम्बन गरिएको छ।
भट्टराईलाई गृहमन्त्रालय र असईत्रयलाई पूर्व क्षेत्र प्रहरी कार्यालयले निलम्बन गरेको हो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निर्देशनमा पूर्वक्षेत्र प्रहरी प्रमुख डीआईजी माधव जोशीले गठन गरेको छानबीन समितिका संयोजक एसएसपी खरेल भन्छन्, “थप अनुसन्धानका लागि निलम्बन गरिएको हो, उनीहरूलाई जागिरबाटै हटाउनेसम्मको कारबाही हुन सक्छ।”
साप्ताहिक खबरपत्रिका हिमाल मा प्रहरीकै संरक्षणमा गाँजाखेती मौलाएको समाचार प्रकाशित भएको थियो। (हे., हिमाल, १२–१८ पुस २०७२) छानबीन समितिसँगको बयानमा आरोपित प्रहरीहरूले गाँजाखेतीबारे एसपी पाण्डेलाई जानकारी गराउँदा पनि नष्ट गर्ने आदेश नदिएको बताएका छन्।
समितिको प्रतिवेदनमा जताततै गाँजाखेती गरिएको, प्रहरीको अभिलेखमा त्यस क्षेत्रमा नियमित गस्ती गरेको देखिएको र गाँजा उत्पादकसँग उठाइने रकम स्थानीय प्रहरीमार्फत जिल्ला प्रहरी प्रमुखलाई पठाउने गरिएको उल्लेख छ।
समितिले यसमा धनकुटास्थित जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी बलको समेत संलग्नता औंल्याउँदै उनीहरूमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ। छिन्ताङ निवासी योगेन्द्र राई र कुमार मगरातीले गाँजा उत्पादकसँग प्रहरीलाई दिने भन्दै करीब रु.१ करोड संकलन गरेको र अहिले फरार रहेका उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
