समाचारबुधबार, माघ २०, २०७२

झापामा दुई सातादेखि खोप सेवा बन्द

हिमालखबर

खोप लगाएको चार दिनपछि एक शिशुको मृत्यु र अर्का एक सिकिस्त भएपछि झापामा दुई सातादेखि नवजात शिशु र गर्भवती महिलालाई जिल्ला जनस्वास्थ्य कार्यालयले सबै किसिमका खोप लगाउन बन्द गरेको छ ।

जनस्वास्थ्य कार्यालयको यो निर्णयसँगै झापाका नवजात र गर्भवती समेत कम्तिमा १८ सय जना खोपबाट बञ्चित भएका छन् ।

गत ५ माघमा पुर्वाेत्तर झापाको शन्तिनगर–१ का दुई महिने शिशु सुलभ राईको निमोनिया विरुद्धको पिसिभी र डिपिटी पहिलो खोप लगाएको चार दिनपछि मृत्यु भएको थियो ।

एउटै केन्द्रमा सँगै पिसिभी र डिपिटीको दोस्रो खोप लगाएकी शान्तिनगर १ की चार महिने शिशु नलिना दाहाल सिकिस्त भइन् । उनको बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

खोपको खराबीका कारण शिशुको ज्यान गएको भन्दै परिवारले आपत्ति जनाएपछि जनस्वास्थ्य कार्यालय झापाले जिल्लाका सबै २६० खोप सेवा केन्द्र बन्द गरी खोपको नमूना परीक्षणको लागि बाल स्वास्थ्य महाशाखा, काठमाडौं पठाएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेब मेहताले बताए ।

मृत्यु भएका शिशुको शब पोष्टमार्टम गरी सो को रिपोर्ट समेत महाशाखामा पठाएको मेहताले जानकारी दिएका छन् ।

यता दुईसातादेखि खोप सेवा बन्द हुँँदा झापामा नवजात शिशुलाई दिइने क्षयरोग बिरुद्धको बिसिजी, हेपाटाइटिस, मेनेन्जाइटिस बिरुद्धको डिपिट, पोलियो, दादुरा, निमोनिया बिरुद्धको पिसिभी, जापानिज इन्सेफलाईटिस बिरुद्धको जेई र गर्भवती महिलालाई दिइने धनुष्टंकार बिरुद्धको खोप नियमित लगाउनु पर्ने करिब आठसय शिशु र हजार गर्भवती महिला खोपबाट बञ्चित भएको जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत इश्वरी पौडेल बताँउछन् ।

स्वास्थ्य मन्त्रालय पठाइएको खोपको परीक्षण गरी चालु गर्न निर्देशन नआउन्जेल खोप चालु नगरिने जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतम महाशाखाले केही दिन भित्रै खोप बिशेषज्ञहरुको बैठक डाकेर निर्देशन पठाउने तयारीमा छन् ।

खोपमा खराबी नभएको दाबी समेत गरेका गौतमले आँउदोसाता देखि झापामा खोप चालु हुने बताए ।

शिशुको दिसामा रगत देखिएको र मष्तिष्कमा समेत रक्तश्राब भएको पोष्टमर्टम रिपोर्टमा उल्लेख भएको उनले बताएका छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>