समाचारबिहीबार, माघ २१, २०७२
नाकाबन्दीपछि दोस्रो पटक रक्सौल नाका हुँदै गाडी भित्रिए
भारतको नाकाबन्दीपछि दोस्रो पटक वीरगञ्ज–रक्सौल नाका हुँदै मालवाहक गाडी नेपाल प्रवेश गरेका छन् ।
आन्दोलनरत मधेशकेन्द्रित दलले वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा धर्ना कायमै राखेको भए पनि २० माघ राति भारतको रक्सौलबाट तीन वटा ट्रक नेपाल भित्रिएका छन् भने नेपालबाट ९ वटा बस र दुई वटा ट्याक्टर रक्सौल गएका छन् ।
वीरगञ्जको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारी कै सहमतिमा गए राति करिब ८ बजे तिर्थयात्री बोकेका बस र ट्याक्टर भारतको रक्सौलतर्फ गएको शंकराचार्य गेट नजिकै रहेको प्रहरी चौकी ईनर्वाले जनाएको छ ।
तिर्थयात्री बोकेको सवारी भारत जाँदै गरेको मौका छोपेर फलाम बोकेको ना ४ ख ७०७ नम्बरको ट्रक नेपाल भित्रिएको थियो ।
बसमा बोलबम कावरीया काफ्लाका ८ सय जना तीर्थ यात्रु थिए भने ट्याक्टरमा १ सय ५० बोरा पिना रहेको प्रहरीले जनाएको छ ।
यसअघि २० माघ बिहान पनि आन्दोलनकारी कम भएको मौका छोपेर दुईवटा मालबहाक ट्रक नेपाल भित्रिएको प्रहरी चौकी ईनर्वाका ईन्चार्ज प्रहरी नायब निरीक्षक रुपेश झाले जानकारी दिए ।
२० माघ बिहानै वीरगञ्ज रक्सौल नाका छेउमै रहेको रक्सौलको अहिरर्वा टोला हुँदै स्वराज कम्पनीका १३ वटा नयाँ ट्याक्टर समेत नेपाल भित्रिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
