समाचारबिहीबार, माघ २१, २०७२
कांग्रेसः क्षेत्रीय र महाधिवेशन प्रतिनिधि निर्वाचन शुक्रबार
नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशनको तयारीका लागि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन शुक्रबार, २२ माघमा हुँदैछ ।
कांग्रेसले संविधानसभाको निर्वाचनमा कायम २४० निर्वाचन क्षेत्रानुसार नै २२ माघमा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचनको मिति निर्धारण गरेको छ ।
निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा आवश्यक सामग्री सहित निर्वाचन अधिकृत खटिइसकेका छन् ।
बारा बाहेक अन्य अधिकांश जिल्लाका २२० निर्वाचन क्षेत्रमा शुक्रबार क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको निर्वाचन सम्पन्न हुने का्रग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।
एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी २० निर्वाचन क्षेत्रमा भने २५ माघमा निर्वाचन हुने उनले बताए ।
केही स्थानमा बाहेक १५ माघमा गाउँ, नगर वडा र नगरको अधिवेशन गरेको कांग्रेसले क्षेत्रीय अधिवेशन तथा महाधिवशेन प्रतिनिधिको निर्वाचन २२ माघ र जिल्ला अधिवेशन २५ माघमा गर्दैछ ।
एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुने संयोजक अधिकारीले बताए ।
गाउँ र नगरको निर्वाचनबाट चुनिएका क्षेत्रीय प्रतिनिधि र स्थानीय नेतृत्वले पार्टीको क्षेत्रीय र जिल्लाको नेतृत्व एवम् महाधिवेशन प्रतिनिधिको चयन गर्ने केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्यसमितिको चयन गर्ने व्यवस्था कांग्रेस विधानमा छ ।
कांग्रेसमा केन्द्रीय कार्यसमितिका ८५, २४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले निर्वाचित हुने २ हजार ८८० र विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने गरी जम्मा ३ हजार २०० को हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुने सचिव पराजुलीले बताए ।
कांग्रेसमा हाल २५ जनसम्पर्क समिति, १३ भ्रातृ र १७ शुभेच्छुक संस्था छन् ।
महाधिवेशन प्रतिनिधिले केन्द्रको नेतृत्व चयन गर्ने भएकाले यतिखेर कांग्रेसमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता आआफ्ना पोल्टामा निर्वाचन परिणाम ल्याउन सक्रिय रूपमा लागेका छन् ।
हालसम्म नेता देउवा र उपसभापति रामचन्द्र पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन्
कांग्रेसमा तीन हजार १५७ गाविस, २१७ नगरपालिका र तिनका वडा, २४० निर्वाचन क्षेत्र र ७५ जिल्लामा कायम पार्टीका स्थानीय कार्य समितिका लागि प्रत्येक चार÷चार वर्षमा निर्वाचन हुन्छ ।
पार्टीको १३ औँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ कायम भएको छ । बाह्रौं महाविधेशनमा तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य थिए ।
आगामी महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुदैछ ।
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको यसअघि १२ औँ महाधिवशेन २०६७ साल भदौ १ देखि ४ गतेसम्म काठमाडौँमै भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
