थप समाचारबिहीबार, माघ २१, २०७२

घुस लिँदै गर्दा प्रहरी निरीक्षक पक्राउ

हिमालखबर

पूर्वी चितवनको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक अम्बिकाप्रसाद गुप्ता घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले उनलाई आज कार्यालय नजिकै मस्जिदबाट नगद आठ हजारसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस रकम लिइरहेको बेला अख्तियारले गुप्तालाई पक्राउ गरेको आयोगले जनाएको छ । खैरहनीको नाइट होटलमा प्रहरी पुग्दा एक व्यक्ति भागेको र ती व्यक्ति फेला नपरेपछि सोही होटलमा रहेका अन्य व्यक्तिलाई प्रहरी निरीक्षक गुप्ताले पक्राउ गरी रकम माग गरेका थिए ।

सोही रकम दिने क्रममा अख्तियारले रकम लिँदालिँदै उनलाई पक्राउ गरेको हो । पक्राउपछि स्थानीयले उनीमाथि कडा कारबाही गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले गुप्तामाथि गुनासा बढेकाले जिल्ला प्रहरी कार्यालयले समेत दुई पटक स्पष्टिकरण लिई नसियत दिने तयारी गरेको बताए ।

उनलाई सिन्धुलीको दुधौली तालिम केन्द्रमा काजमा पठाउन क्षेत्रीय कार्यालयले जिल्लालाई पत्र पठाइसकेको थियो ।

आजै साँझ उनलाई पत्र दिने तयारी जिल्ला प्रहरी कार्यालय चितवनले गरेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...