समाचारशुक्रबार, माघ २२, २०७२
वीरगञ्ज रक्सौल नाकाबाट ठूला गाडी आउन थाले, फेरि बन्द गराउने प्रयास
भारतीय नाकाबन्दीको १३५ औं दिनमा रक्सौल–वीरगञ्ज नाका हुँदै मालवाहक कन्टेनर र ट्यांकर नेपाल भित्रिएका छन् ।

तस्वीर: जियालाल साह
आज, २२ माघमा सीमानाकास्थित मितेरी पुलमा मधेशकेन्द्रित दलका धर्नाकारीको संख्या कम रहेका बेला रक्सौल र वीरगञ्जका स्थानीय र व्यापारीहरुले धर्नाकारीले राखेको अवरोध र टेन्ट हटाएपछि भारततर्फबाट गाडी आउन शुरु भएको हो । नाका खोल्ने समूहमा रक्सौलका स्थानीयको सहभागिता उल्लेख्य थियो ।
अहिले २२ माघ साँझ ६:५० बजेसम्म पनि मितेरी पुलको दुवैतर्फ रक्सौलका स्थानीय र व्यापारीहरु ठूलो संख्यामा भेला भएका छन् ।
नेपालका अन्य सबै नाका खुल्ला रहेको अवस्थामा वीरगन्ज नाकालाई मात्र बन्द गरी यस भेगका जनतालाई दुःख दिन नहुने भन्दै उनीहरुले पुलमा राखिएका टेन्ट, ढाट सबै हटाएपछि लामो समयदेखि रक्सौलमा थन्किएका नेपाली वाहन वीरगन्जतर्फ आएका छन् भने वीरगन्जमा थन्किएका भारतीय वाहन पनि रक्सौलतर्फ गएको सीमा प्रहरी चौकी इनर्वाले जनाएको छ ।

तस्वीर: सुरेश विडारी
नाका फेरि बन्द गराउने प्रयास
नाका खुलेको खबर पाएलगत्तै मितेरी पुल पुगेका तमलोपाका महामन्त्री जितेन्द्र सोनल स्थानीयसँगको विवादपछि त्यहाँबाट फर्किएका छन् भने संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत, पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव, केन्द्रीय सदस्य करिमा बेगम लगायतका नेताहरु कार्यकर्ताहरुसँगै मितेरी पुल नजिक जम्मा भएका छन् ।
उनीहरुले नाका फेरि बन्द गर्न आग्रह गरिरहँदा रक्सौलका व्यापारीहरु ‘कि नेपाल–भारतबीचका सबै नाका बन्द गराऊ, नभए वीरगञ्ज रक्सौल नाका कुनै हालतमा बन्द गर्न पाइँदैन’ भनिरहेका छन् ।
नाका सुचारु नै राख्न भन्दै सीमा क्षेत्रमा रक्सौल र वीरगञ्जका वासिन्दाको ठूलो भीड जम्मा भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
