समाचारशुक्रबार, माघ २२, २०७२
तस्करी रोक्न वीरगन्ज नाका खुल्नुपर्छ: महतो
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अन्य नाका खोलेर वीरगन्ज मात्र बन्द गर्दा तस्करी र कालाबजारिया बढेकाले छिटो नाका सहज बनाइनुपर्ने बताएका छन् ।
दुई दिनअघि बिहार पटनाबाट बिराटनगर फर्किएका महतोले तस्करी र कालाबजारिया रोक्न पनि सबै नाका खुला गरिनुपर्नेमा जोड दिए ।
“अहिलेको आन्दोलनको स्वरुपबाट जनताले दुःख पाए, कि त सबै नाका बन्द गरौँ, होइन भने वीरगन्ज पनि खोलौँ भन्ने प्रस्ताव मोर्चाको अब बस्ने बैठकमा राख्नेछु, अब आन्दोलनसम्बन्धी ठोस निर्णय हुनुपर्छ भन्ने प्रस्ताव म बैठकमा लैजान्छु”– महतोले भने ।
पाँच महिनासम्मको नाकाबन्दीले काठमाडौँलाई दबाब दिन नसकेकाले आन्दोलनको स्वरुप फेरिनुपर्नेमा उनको जोड थियो ।
मोर्चाको बैठक शनिबार बस्ने उनले जानकारी दिए ।
यता मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने नाका खोल्ने विषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।
“मोर्चाले वीरगन्ज नाका खोल्ने विषय हल्ला मात्र हो, यसबारे कुनै निर्णय भएको छैन, सञ्चारमाध्यममा आएको हल्लाले नाका खुल्दैन”–उनले भने ।
तराई–मधेश सद्भावना पार्टीका नेता रामनरेश रायले मोर्चाका शीर्ष नेता काठमाडौँ आएपछि बैठक बसेर ठोस निर्णय लिइने बताए ।
मोर्चाका नेता महतोको अभिव्यक्तिलगत्तै पाँच महिनादेखि बन्द वीरगन्ज नाका आज खुकुलो भएको छ । महतो बाहेक मोर्चाका सबै शीर्ष नेता काठमाडौँ आइपुगेका छन् भने महतो पनि आजै रातिसम्म काठमाडौँ आइपुग्नेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
