समाचारशुक्रबार, माघ २२, २०७२

नाकाबन्दी खुलेकै दिन ८८ लाख राजश्व संकलन

हिमालखबर

१३४ दिनपछि वीरगञ्ज–रक्सौल नाका सुचारु भएसँगै वीरगञ्ज र रक्सौलका समेत स्थानीय र व्यापारीहरु खुशी भएका छन् ।

तस्वीर: जियालाल साह

तस्वीर: जियालाल साह

नाकाबन्दीले गर्दा दैनिक उपभोग्य वस्तुको अभावसँगै दैनिक जीवन नै अस्तव्यस्त भएका स्थानीय र सामान आयात–निर्यात गर्न नपाएपछि टाट पल्टिने अवस्थामा पुगेका व्यापारी नाका खुलेसँगै जनजीवन सहज हुने आशाले खुशी भएका हुन् ।

अपराह्न करिब १ बजेदेखि नाका सुचारु भएपछि वीरगञ्ज भन्सार कार्यालयले १३४ दिनपछि पहिलो पटक आज रु ८८ लाख राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माले जानकारी दिए ।

यसअघि पछिल्लो समय दैनिक रु. ३० देखि ३५ लाख राजश्व संकलन हुँदै आएको थियो ।

आज भारतबाट ७० भन्दा बढी गाडीहरु वीरगंज भन्सार यार्डमा भित्रिएको भन्सार प्रमुख मित्रलाल रेग्मीले बताए ।

“माल समान बोकेका ट्रक, कन्टेनरसहित ३५ ह्याभी भेहिकल, ३६ सिमेन्टका कन्टेनर र केही गाडी तथा टयाक्टरहरु भित्रिएका छन्,” रेग्मीले भने ।

संविधानसभाले संविधान जारी गरेपछि असन्तुष्ट रहेको भारतले ५ असोजदेखि भारतबाट नेपालततर्फ सामानको आपूर्ति बन्द गरेको थियो भने त्यसको दुई दिनपछि ७ असोजदेखि मधेशी मोर्चा लगायत मधेशकेन्द्रित दलहरुले सीमा नाकामा धर्ना शुरु गरेका थिए ।

मोर्चाको धर्ना अवधिभर फाटफुट रुपमा दैनिक केही गाडी नेपाल भित्रिए पनि नाकामा अवरोध कायमै थियो ।

नेपालमा रहेका ३० वटा भन्सार कार्यालयमध्ये वीरगन्ज भन्सार कार्यालय एक्लैले यसवर्ष ५१ प्रतिशतभन्दा बढी राजश्व असुलीको लक्ष्य पाएको छ ।

चालु आर्थिक वर्षमा भन्सार विभागको कुल राजश्व असुली लक्ष्य रु २ खर्ब ५ अर्ब रुपैयाँ मध्ये वीरगन्ज भन्सारको भागमा मात्रै रु. १ खर्ब ३ अर्ब छ ।

व्यपार र राजश्व असुली दुबै दृष्टिले महत्पूर्ण नाका वीरगञ्ज–रक्सौल मार्ग थुनिंदा राज्य, व्यापारी साथै सम्पूर्ण मुलुकबासीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

आज नाका खुलेसंगै अब फेरि अवरोध नहोओस भन्ने यसक्षेत्रका व्यवसायी र सर्वसाधारण सबैको कामना छ ।

नाका खुलेसँगै पुनः बन्द गराउन पुगेको संघीय समाजवादी फोरम र तमलोपाका स्थानीय नेताहरुलाई स्थानीयले नाका खुलै राख्नुपर्ने भन्दै फिर्ता पठाइदिएका थिए । मोर्चाका नेता–कार्यकर्तासँग केही बेर विवाद समेत भएको थियो । तर बेलुका अबेरसम्म नाका सुचारु नै छ ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>