समाचारशनिबार, माघ २३, २०७२
धनुषामा थप दुई जनामाथि गोली प्रहार

पिठ्यूँमा गोली लागेका नसिब राइन ।
गए राति कांग्रेस क्षेत्रीय नेता राजेन्द्रप्रसाद यादवको हत्या भएको १२ घण्टा वित्न नपाउँदै धनुषामा थप दुई जनामाथि गोली प्रहार भएको छ ।
धनुषाको चारनाथ नगरपालिका विरेन्द्रनगर बजारमा आज विहान करिब ९ः३० बजे स्थानीय कांग्रेस कार्यकर्ता नसिब मियाँ राईन र रामकुमार चौधरीमाथि अपिरिचित व्यक्तिले गोली प्रहार गरेका हुन् ।
ढल्केवर–लहान सडकखण्ड अन्तगर्त चारनाथ नगरपालिकाको बिरेन्द्र बजार चोकमा २२० सीसी पल्सर मोटरसाईकल चढी आएका दुईजनाको समूहले ४५ वर्षीय नसिब मियाँ राईन र २० वर्षीय रामकुमार चौधरीमाथि गोली प्रहार गरेका हुन् ।
कांग्रेस कार्यकर्ता राइनमाथि गोली प्रहार भएपछि गोली हान्ने व्यक्तिलाई लखेट्दै गरेका चौधरीमाथि पनि गोली प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
राइनको पिठ्युँमा दुईवटा गोली लागेको छ भने चौधरीको खुट्टामा गोली लागेको छ ।
जनकपुर अञ्चल अस्पतालमा उपचार संभव नभएपछि राइनलाई केहीबेर अघि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
यसअघि गए राति कांग्रेस क्षेत्रीय नेता राजेन्द्रप्रसाद यादवको बालबाखरमा हत्या भएको थियो ।
जनकपुरमा रहेका कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले नयाँ संविधानले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेबाट असन्तुष्ट रहेकाहरुले कांग्रेसको अधिवेशनलाई लक्षित गरी हिंसा गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले दोषि पत्ता लगाई कडा कार्वाही गर्न स्थानीय प्रशासन र सरकारसँग माग गरे ।
कांग्रेस सांसद दिनेश प्रसैलाले कांग्रेसको अधिवेशन विथोल्न प्रयास गरिरहेकाहरुले घटना गराएको टिप्पणी गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
