थप समाचारआइतबार, माघ २४, २०७२

सशस्त्रका पूर्व महानिरीक्षक श्रेष्ठविरुद्ध मुद्दा

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको सामान खरिद एवम् ढुवानीमा रु ८० लाखभन्दा बढी भ्रष्टाचार गरेको भन्दै तत्कालीन महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार सामान नै ढुवानी नगरी नक्कली बिल भरपाई पेस गरी राज्यकोषको दुरुपयोग गरेको भन्दै महानिरीक्षक श्रेष्ठ, लेखा प्रमुख रहनुभएका सशस्त्र प्रहरी निरीक्षक तकमान महरा, भण्डार शाखाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्र श्रेष्ठ र अदिती ट्रान्सपोर्टका सञ्चालक भरतकुमार थापाविरुद्ध मुद्दा दायर गरिएको हो ।

नक्कली बिल भरपाई बनाएर महानिरीक्षक श्रेष्ठले रु ८० लाख ९३ हजार ६१० भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । यस्तै, भण्डार शाखाका प्रमुख श्रेष्ठले रु १८ लाख ३९ हजार ५१० र अदिती ट्रान्सपोर्टका सञ्चालक थापाले रु ५७ लाख २१ हजार ५७० बराबरको अनियमितता गरेको पाइएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम मुद्दा दायर गरिएको हो ।

सञ्चालनमा नै नरहेको सत्यम् ट्रान्सपोर्टबाटसमेत सामान ढुवानी गराएको भनी बिल तथा भरपाई पेस गरेको र राज्यकोषको दोहन गरिएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता पुस्करले जानकारी दिए ।

आयोगले यसअघि अर्का महानिरीक्षक कोषराज वन्तसहित नौ जनाविरुद्ध पनि नक्कली बिल भरपाई पेस गरी राज्यकोषको दोहन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>