समाचारसोमबार, माघ २५, २०७२
नाकाबन्दी र आमहड्ताल स्थगित गर्ने मोर्चाको निर्णय
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नाकाबन्दी, आमहड्ताल र सरकारी कार्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ ।
मोर्चाका शीर्ष नेताहरु सहभागी बैठकले जनताको सुझाव र समस्यालाई ख्याल गर्दै नाकाबन्दी र आमहड्तालको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । तर, मोर्चाले अन्य आन्दोलनका कार्यक्रम भने जारी राख्ने भएको छ ।
मोर्चाले आन्दोलनलाई सशक्त र निर्णायक बनाउन काठमाडौंसहित देशका अन्य ठाउँमा समेत आन्दोलन चर्काउने निर्णय गरेको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आन्दोलनलाई क्षति पुग्ने अभिव्यक्ति नदिने निर्देशन समेत दिएको छ ।
बैठकमा महतो भने अनुपस्थित थिएभने उनको पार्टीका कसैले पनि विज्ञप्तीमा हस्ताक्षर गरेका छैनन् । काठमाडौंमा बसेको मोर्चाको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई मधेश सद्भावना पार्टीका महिन्द्रराय यादवलगायत सहभागी थिए ।