समाचारमंगलबार, माघ २६, २०७२
स्वराजले दिइन श्रद्धाञ्जलि
आजै नयाँ दिल्लीबाट काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कांग्रेस सभापति एवम् पूर्वंप्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छन् ।
स्वराज र उनीसँगै आएका भारतीय राष्ट्रिय कांग्रेसका आनन्द शर्मा, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता सीताराम यचुरी र प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित दोभल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै नेता कोइरालाको पार्थिव शरीर राखिएको स्थल दशरथ रङ्गशाला पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
विदेशमन्त्री स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै भेट्ने कार्यक्रम छ ।
उपप्रधानमन्त्री कमल थापा र नेपाली कांग्रेसका शीर्ष नेतृत्वसँग पनि आजै बेग्ला बेग्लै छलफल गरेर स्वराज आजै साँझ नयाँदिल्ली फर्कने बताइएको छ ।
नयाँ संविधान जारी भएपछि काठमाडौं आएको यो सबैभन्दा उच्चस्तरको भारतीय प्रतिनिधिमण्डल हो।
नयाँ संविधानप्रति असन्तुष्टी जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी गरेपछि दुवै देशबीचको सम्बन्ध चिसिएको थियो ।
तर, संविधानको पहिलो संशोधन भएको दुई सातापछि भारतले लगाएको अघोषित नाकाबन्दी अघोषित रुपमै हटिसकेको छ भने दुवै देश चिसिएको सम्बन्ध सुधार्ने प्रयासमा छन् ।