समाचारबुधबार, माघ २७, २०७२
अन्तर्राष्ट्रिय समुदायद्वारा शोक व्यक्त
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र सङ्घ, युरोपेली सङ्घ, सोसलिस्ट इन्टरनेसनल, जापान र अमेरिकाले शोक व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेता कोइरालाको निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै कोइराला सबैका आदरणीय राजनेता रहेको बताएका छन् ।
महासचिवका तर्फबाट उनका प्रवक्ताले जारी गरेको वक्तव्यमा जटिल सङ्क्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गरेको उल्लेख छ ।
सहमति, समझदारीको भावनाबाट प्रेरित भएर नेता कोइरालाले नेपाली जनता र राजनीतिक दललाई एकताबद्ध गरेको स्मरण गर्दै महासचिव बानले त्यसबाट नेपालको प्रजातान्त्रिक प्रक्रिया र शान्ति प्रक्रियामा ठूलो योगदान पुगको बताएका छन् ।
महासचिव बानले कोइराला परिवार र नेपाली जनतामा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
त्यस्तै सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले समवेदना सन्देश पठाउँदै नेता कोइरालाको निधनबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको जनाएका छन् ।
त्यसैगरी, यहाँस्थित युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले सङ्घका तर्फबाट शोक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री कोइरालाले लामो राजनीतिक अनिश्चितताबाट नेपाललाई अगाडि बढाएको बताएकी छन् ।
नेता कोइरालाको इमान्दारी र दृढ प्रतिबद्धतापूर्ण सोचबाटै नेपालले नयाँ संविधान पाएको उल्लेख गर्दै उनले सन्देशमा नेपालको चौतर्फी विकास सुनिश्चित गर्न तथा द्विपक्षीय बाह्य कूटनीति प्रवर्धन गर्न उनमा स्पष्ट सोच थियो भनेकी छन् ।
यस्तै जापानले पनि नेता कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको लोकतान्त्रिकीकरण र संविधान जारी गर्न उनले निर्वाह गरेको ऐतिहासिक भूमिकाको स्मरण गरेको छ ।
नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जापान सरकार, त्यहाँका जनता र शोक सन्तप्त कोइराला परिवारमा हार्दिक सहानुभूति व्यक्त गरेका छन् ।
त्यस्तै काठमाडौंस्थित अमेरिकी राजदूतावासले पनि नेता कोइरालाको निधनमा नेपाली जनताप्रति सहानुभूति एवम् ऐक्यबद्धता प्रकट गरेको छ ।
प्रजातन्त्रका हिमायती नेता कोइरालाको प्रधानमन्त्रीत्वकालमा नयाँ संविधान जारी हुनु महान् उपलब्धि भएको भन्दै अमेरिकाले नेपालको प्रजातान्त्रिक भविष्यप्रति प्रतिबद्ध कोइराला भावी पुस्ताका निम्ति दृष्टान्त बन्ने विश्वास व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
