साहित्य विशेषबिहीबार, माघ २८, २०७२

नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र

कमल दीक्षित

kamalmaniराणा शासकका डरले छापिन नपाएको नेपालीको पहिलो मौलिक उपन्यास ‘वीर चरित्र’ ले नछापिइकनै देश पिटेको थियो।

‘चार जना डोलेले बोकेको उलिनकाठमा चढेर काठमाण्डूका साँघुरो सडकमा उनी प्रायः देखिन्थे रे! त्यसमा पनि फसिकेवको पशुपत प्रेस उनको घर जाने बाटैमा हुनाले त्यता उनी नित्यै जस्तो पुग्थे भन्दछन्। उनी सारै स्थूल शरीरका थिए। यसउसले धेरै घुमफिर गर्न सक्दैनथे। त्यसै हुँदा उनको मनबहलाउको साधन पढाइ र लेखाइ नै हुनगएको थियो।’ २०२२ सालमा ‘वीर चरित्र’ को पूरै चार भाग पहिलो पटक छाप्दा जगदम्बा प्रकाशनले यसरी चिनाएको थियो आफ्ना लेखकलाई।

वीरचरित्रगिरीशवल्लभ पेशाले कवि या लेखक थिएनन्, कविराज थिए, आयुर्वेदका धुरन्धर। तर हिन्दीका लोकप्रिय तिलस्मी उपन्यासहरू पढेर अनुकरण गर्दागर्दै उपन्यासकार हुनपुगे उनी।

धारावाहिक रूपमा आउने ‘चन्द्रकान्ता’ र ‘चन्द्रकान्ता सन्तति’ पढ्दै जाँदा तिनमा उनी यति लट्टु भए, त्यसका लेखक देवकीनन्दन खत्रीका ‘फ्यान’ नै हुनपुगे। कतिसम्म भने उनले आफ्नो छोराको नाम समेत ‘देवकीनाथ’ राखिदिए अनि आफूले पनि जासूसी (ऐच्चयारी) उपन्यास लेख्न थाले। त्यसैको उपज हो उनको उपन्यास ‘वीर चरित्र’।

तर यो कुनै हिन्दी किताबको अनुवाद होइन। मौलिक र नेपालीपनले ओतप्रोत यो रहरलादो उपन्यास हाम्रो भाषाको पहिलो उपन्यास नै हुनपुग्यो! हिन्दीका ऐच्चयारी आख्यानहरू जस्तै गरी ‘वीर चरित्र’ पनि धारावाहिक रूपमै छापिंदै थियो तर नरदेव मोतीकृष्ण (आढत) ले १९६० सालमा यसको पहिलो भाग छापेपछि अरू छापिन सकेन, रोक लाग्यो।

त्यो ‘रोक’ औपचारिक थिएन, अघोषित थियो। गिरीशवल्लभ राणा दरबारका समेत वैद्य थिए, त्यतैका मसिना र महिला ‘मालिक’ हरूबाट उनलाई भनियो– “कविराजबाजे, ‘वीर चलित्र’ अरू पनि छाप्नुस् न।” बस्! राणाकाल, त्यो पनि चन्द्रशमशेर महाराजको शुरू शुरूको शासनकाल। त्यस वेला त्यति भनिएपछि काण्ड पुगिहाल्यो! राणा शासकहरूको नजरमा चढिहाल्यो त्यो सानो मसिनो पुस्तक!

अब न पशुपत प्रेसले छाप्न मान्थ्यो त्यो न नरदेवहरूले नै त्यसलाई प्रकाशित गर्ने आँट गर्थे। पाँचौं भाग लेखिंदै गरेको ‘वीर चरित्र’ अब लेख्न, छाप्न सबै रोकियो, तर पढ्न रोकिएन। त्यसको लोकप्रियता अझ् बढ्यो। यहाँनेर, ‘वीर चरित्र’ को भूमिकालाई अलिकता उद्धृत गरौं:

‘यो छापिएन त हो, तर यो पूरा किताबलाई शासक वर्गका अधिकांशले पढे। पढ्न पाउनेले नपाउनेहरूसँग बयान गर्दागर्दैमा यसका पाठक बढे। आफ्ना लेखन्दासहरूबाट गिरीशवल्लभले यस पुस्तकको दशौं प्रतिलिपि बनाउनुपर्‍‍यो किन भने शासक वर्गका आइमाई र केटाकेटी उनीसँग भेट भयो कि भनिहाल्थे, ‘वीर चलित्र पढ्न पठाइदिनुस्न, कविराजबाजे।’

त्यसरी ‘भित्र’ गएको पुस्तकका प्रतिलिपिहरू दरबारबाट फर्केर आउँदैनथे। अनि लेखन्दासहरू अर्को प्रतिलिपि तयार पार्न थाल्थे। … दरबारमा मात्र होइन, त्यस वेलाका ‘दुनियाँदार’ का घरमा पनि ‘वीर चरित्र’ अमुद्रित भएरै घुम्नसम्म घुम्यो। यसरी नछापिइकनै देश पिटिनु नै यस किताबको लोकप्रियताको सबभन्दा ठूलो प्रमाण हो।’

नेपालीको पहिलो मौलिक उपन्यास भएर मात्र होइन, काठमाण्डू खाल्डो नै नेपाल हैन, नेपाल राज्य धेरै ठूलो छ भन्ने आभास दिने पहिलो साहित्यिक कृति भएकाले पनि ‘वीर चरित्र’ महत्वपूर्ण लाग्छ मलाई। पूर्वमा १ नम्बर बनेपासम्म मात्र पुगे पनि पश्चिमपट्टि ‘वीर चरित्र’ ले ठूलो भूभाग ओगटेको छ।

बाग्लुङबाट त यो उपन्यास शुरू नै हुन्छ। कथा बढ्दै जाँदा यसमा रिडी आउँछ, पाल्पा पोखरा आउँछन्। अनि मोदी, बेनी र कागबेनी, लिमी ठाना, उल्लेरी र टुकुचे पनि पुर्‍याउँछ यस किताबले पाठकलाई।

त्यहाँ पुर्‍याउने मात्र होइन, आधुनिक सभ्यता समेत त्यहाँ पुगिसकेको सपना देखाउँछ ‘वीर चरित्र’ ले हामीभन्दा एक सय वर्षअघिका नेपाली पाठकलाई। त्यहाँ राम्रा बाटाघाटा छन्। नदीहरूमा जहाज र डुङ्गा चल्छन्। के के हुन सक्छ नेपालमा भनेर बताएका छन् ती आयुर्वेदी, वैज्ञानिक नेपाली विद्वान्‍ले।

त्यसैले त झस्काएछ राणा शासकहरूलाई। उनीहरूका निमित्त नेपाली प्रजा यत्तिको ‘जान्ने सुन्ने’ हुनु खतरायुक्त हुन्थ्यो। अनि त भनियो होला गिरीशवल्लभलाई शासकहरूद्वारा ‘कविराजबाजे, यो किताब अरू नछाप्नुस्’ भनेर! हुन पनि ‘कविराजबाजे’ को किताबले ‘आगलागी गराउने सामग्री’ जोगाड गर्न पनि सिकाउँथ्यो र आगलागी गराइसकेपछि त्यसलाई निभाउन ‘दमकल’ ल्याउने कुरा समेत बताउँथ्यो (पृ. ३१५–१६)।

राणाशासनका लागि त्यसभन्दा पनि ‘खतरनाक’ संकेत पाइन्थे ‘वीर चरित्र’ का पानाहरूमा। उदाहरणार्थ, पृष्ठ ४३० मा लेखिएको थियो– “यहाँ पाठशालामा महिना १ को ६० रुपैयाँको राजनीति पढाउने खान्गी खाली छ। पाठशाला बन्दोबस्तका हाकिम डिठ्ठासँग गई बन्दोबस्त गरिदिन्छु।’

स्मरणीय के छ भने राजनीति या ‘पोलोटिक्स’ गर्नु त के कुरा त्यस्ता विषयमा चर्चा गर्नुसम्म पनि राणाहरूको नेपालमा वर्जित (ट्याबू) थियो। स्मरण गरौं, २००७ सालसम्म नेपालको एक मात्र उच्च शिक्षालय त्रिचन्द्र कलेजमा समेत ‘पोलिटिक्स’ भन्ने विषयको पढाइ हुँदैनथ्यो।

२००४ सालमा म जस्ताले पनि ‘पोलिटिकल साइन्स’ पढ्नलाई मात्र बनारस पलायन हुनु परेको थियो। यो कुरा मैले मेरो ‘बिर्सेको सम्झेको’ (२०४०) मा लेखिसकेको छु।

अब पनि, ‘कविराजबाजे’ गिरीशवल्लभको ‘वीर चरित्र’ नेपालीहरूले बिर्सिन नहुने एउटा ग्रन्थ हो भनेर प्रमाणित गर्न अरू बढी शब्द व्यय गर्नु पर्ला?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...