समाचारबिहीबार, माघ २८, २०७२
कोइरालाले भनेको ‘ए बुझें’ अपव्याख्या भयोः डा. योगी
नेपाली कांग्रेसका दिवंगत सभापति एवम पूर्व प्रधानमन्त्री सुशील कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले कोइरालालाई अन्तिम समयमा इन्जेक्सन दिंदा उनले ‘ए बुझें’ भनेको तर त्यसको गलत ब्याख्या भएको बताएका छन् ।
कोइरालालाई इन्जेक्सन दिने बेलामा उनले हात थिचेर सुतेकाले आफूले हात निकाल्नुस भनेको र प्रतिक्रियामा कोइरालाले ‘ए बुझें’ भनेर हात दिएको योगीले बताए ।
उनले भने, “इन्जेक्सन दिने बेला हात निकाल्न गरिएको कुराकानीको अपव्याख्या भयो ।” डा. योगीले इन्जेक्सन लगाउँदा निक्लिएको रगत लुगामा लागेको पनि स्पष्ट पारे ।
कोइरालाको निधारमा पनि कुनै चोट नलागेको भन्दै उनले अन्त्येष्टिका बेला शवलाई नुहाउँदा पनि त्यसको पुष्टि भइसकेको बताए । भने, “बाहिर आशंका गरिएजस्तो टाउकोमा चोट थिएन त्यो दाहसंस्कार गर्ने बेलामा नुहाउँदा पुष्टि भईसकेको छ ।”
राति शौचालय जाने बेलामा कोइराला अलि लरबरिएर बेसिनको सहारा लिएको र त्यसक्रममा टाउकोको पछाडी अलि छोएको भए पनि कुनै चोट नलागेको उनको भनाई छ ।
१३ पटकसम्म टिचिङ्को फोन उठेन
कोइरालालाई ब्यथाले च्यापेपछि अस्पताल लैजान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको एक्सचेन्जको टेलिफोन नउठ्दा उनलाई अस्पताल पुर्या उन नसकिएको बताए ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले आफ्नो मोवाईल देखाउँदै भने, “मैले टिचिङ्गको एक्सचेन्जमा एम्बुलेन्सकोलागि १३ पटक फोन गरे तर फोन उठेन । पूर्व राष्ट्रपति डा। रामबरण यादवलाई पनि टेलिफोन गरे । कोइराला निवासमा सवारी साधन भए पनि अक्सिजन विनाको सवारी साधनमा लिएर जान झनै जोखिम हुने थियो ।”
उनले कोइरालालाई अस्पताल भर्ना गर्न सोमबारको लागि टिचिङ्गकोको ६०१ नम्बर बेड बुक गरिएको भएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आई सामान्य अवस्था बनेकोले पहिला नै अस्पताल नलगिएको स्पष्ट पारे ।
डा. योगीले भने,”सुशील दाईले शुक्रबार ज्वरो आए जस्तो भयो भन्नु भयो त्यसको उपचार गरियो । शनिबार अलि गाह्रो भयो भन्नु भयो एण्टिबायोटिक शुरु गरियो । आईतवार विहान ६ बजे बोलाउनुभयो म साढे ६ बजे पुगे त्यसबेला पनि उहाँको स्वास्थ्य स्थिर थियो । उहाँले कमजोर महशुस भयो भन्नु भयो मैले टिचिङ्गको ६०१ नम्बर बेड बुक गरें । दिउँसो छलफल गर्यौंर । उहाँले जाउलो खानु भयो ज्वरो पनि थिएन । राती साढे नौ बजे म घर गए । त्यसपछि अतुलजीले फोन गरेर स्वास लिन गाह्रो भयो आउनुस भन्नु भयो । म केही ईन्जेक्सन लिएर गए । उहाँको स्वास्थ्य अवस्था विग्रिएको थियो । तीनबाट ईन्जेक्सन लगाए । गर्दा गर्दै लान भ्याईएन ।”
१२ बजे आफूले ईन्जेक्सन लगाएको र त्यसपछि साढे १२ बजे सीपीआर गरेको जानकारी दिदै त्यस अवस्थासम्म कोइराला बोलि नै रहेको बताए ।
उनले कोइरालामा फोक्सोमा हुने जति सबै रोग रहेको भन्दै केही समय अघि सुन्निएको खुट्टा पनि सोही कारण भएको रिपोर्ट आएको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
