समाचारबिहीबार, माघ २८, २०७२
मन्त्रिपरिषद बैठक: प्रमको भारत भ्रमण फागुन ७ देखि
मन्त्रिपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी ७ फागुनदेखि हुने भारतको औपचारिक भ्रमणलाई स्वीकृत गरेको छ ।
भारत सरकारले आजै प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो दिएको छ । भारतको विदेश मन्त्रालयले आज मात्रै भ्रमणसम्बन्धी जानकारी नेपाल सरकारलाई गराएको हो । मन्त्रिपरिषद्को आजै, २८ माघमा बसेको बैठकमा भ्रमणका विषयमा छलफल भएको र भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणको आवश्यक तयारी परराष्ट्र मन्त्रालयले गर्ने छ ।
सरकारले दुई चिकित्सकलाई मन्त्रिपरिषद्का चिकित्सकका रुपमा नियुक्त गरेको छ । प्रवक्ता राईका अनुसार डा दिव्यासिंह शर्मा र डा दिलीप शर्मालाई उक्त पदमा नियुक्त गरिएको हो ।
नेपाल–बेलायत सम्बन्धको द्विशतवार्षिकी समिति
सरकारले नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध स्थापना भएको उपलक्ष्यमा विशेष कार्यक्रम गर्न उपप्रधानमन्त्री कमल थापाको संयोजकत्कमा ३२ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।
नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १८५२ मा जङ्गबहादुर राणाबाट सुरु भएको उच्चस्तरीय बेलायत भ्रमण हालसम्म नेपालबाट ३४ र बेलायतका तर्फबाट ३९ वटा भइसकेको छ ।
समितिले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्षका अवसरमा के–कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा आवश्यक निर्णय गर्नेछ ।
रङ्गेलीका मृतक परिवारलाई रु १० लाख
७ माघमा मोरङको रङ्गेलीमा भएको झडपमा परी ज्यान गुमाएका प्रतिपरिवारलाई रु १० दश लाखका दरले राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको सूचना तथा सञ्चारमन्त्री राईले जानकारी दिए ।
उक्त घटनामा तीन जनाको निधन भएको थियो । यस्तै सोही घटनामा परी घाइते भएकाहरुको निःशुल्क स्वास्थ्य उपचार गर्ने निर्णय समेत सरकारले गरेको छ । युवा सङ्घ नेपालले आयोजना गरेको मधेश जागरण कार्यक्रममा मधेशी मोर्चाले अवरोध गर्दा झडप भएको थियो ।
यस्तै बेलायत सरकारले डिएफआइडीमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने रु दुई अर्ब ३१ करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उक्त रकम विकासका लागि प्रमाण कार्यक्रममा खर्च गरिनेछ ।
सहसचिवको पदस्थापना
सरकारले २८ सहसचिवको पदस्थापना गरेको छ ।
प्रवक्ता राईका अनुसार दानध्वज बस्नेत र प्रदीपकुमार कोइराला स्वास्थ्य मन्त्रालय, ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, सञ्जयकुमार खनाल शान्ति तथा पुनःनिर्माण, केशवप्रसाद आचार्य, भगीरथ पाण्डे र जनकराज दाहाल गृह, जानकीबल्लभ अधिकारी पशुपक्षी, शिवप्रसाद अधिकारी विज्ञान तथा प्रविधि, गोकुलप्रसाद धिताल आपूर्ति र शेरबहादुर ढुङ्गाना शिक्षा मन्त्रालय तथा लक्ष्मीविलास कोइरालालाई लोकसेवा आयोगमा पदस्थापना गरेको छ ।
केही दिन पहिले उपसचिवबाट सहसचिवमा बढुवा भई विभिन्न निकायमा कार्यरत ती सहसचिवलाई पदस्थापना गरिएको हो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
