समाचारशुक्रबार, माघ २९, २०७२
प्रधानमन्त्रीको भारत भ्रमणअघि नै राजनीतिक संयन्त्र बनाइने
प्रमुख तीन दल र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवासमा भएको वार्ताले सीमाकंन विवाद टुंग्याउने राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ ।
दुवै पक्ष सम्मिलित कार्यदलको बैठकले सीमाकंनको विवाद टुंग्याउने राजनीतिक संयन्त्र बनाउने सहमति भएको तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले बताए । तीन महीनाभित्र सीमाकंन टुंग्याउनेगरी बन्न लागेको राजनीतिक संयन्त्रको कार्यविधिबारे भने टुंगो लागिसकेको छैन ।
तर, दुवै पक्षले संयन्त्रमा सदस्यहरु पठाएर छलफल अघि बढाइने भएको छ । यो संयन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै व्यवस्थापिका–संसद्बाट अनुमोदन गराउने तयारी भएको छ ।
…………………………………….
मोर्चासहित कार्यदलको बैठक बालुवाटारमा
प्रधानमन्त्री केपी शर्मा ओली भारतभ्रमणमा जानु अगावै सीमांकन विवाद मिलाउन संयन्त्र गठन गर्ने तयारी स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा तीन र मोर्चाको कार्यदलबीच छलफल भइरहेको छ ।
मधेशमा आन्दोलन रोकिनुका साथै नाकाबन्दी समेत हटेपछि दुवैपक्ष लचिलो भएका बेला प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
सीमांकन विवाद तीन महिनाभित्र टुंगो लगाउने गरी राजनीतिक संयन्त्र गठन गर्ने तीन दलको प्रस्तावमा मोर्चा यसअघि नै सहमत भए पनि संयन्त्रको कार्यविधिमा सहमति हुन सकेको थिएन ।
आजको बैठकमा हुने छलफलमा सहमति जुटेपछि शीर्ष नेताहरुको बैठकले थप छलफल गरी संयन्त्रबारे सहमति हुनेछ ।
बैठकमा तीन दलका तर्फबाट कार्यदलका सदस्यहरु महेश आचार्य, भीम रावल, कृष्णबहादुर महरा र मोर्चाका तर्फबाट लक्ष्मणलाल कर्ण, रामनरेश राय र हृदयेश त्रिपाठी लगायत छन् ।