समाचारशुक्रबार, माघ २९, २०७२
२५ जिल्लामा कांग्रेस सभापति छानिए
नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि २५ माघमा भएको जिल्ला अधिवेशनबाट २५ जिल्ला सभापति निर्वाचित भएका छन् ।
पार्टी सभापति सुशील कोइरालाको निधन हुनुअघि २५ जिल्लाको निर्वाचन परिणाम आएको हो । निर्वाचित भएका जिल्ला सभापतिहरु ताप्लेजुङमा लीला पोखरेल, झापामा उद्वव थापा, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुङ्गामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सिन्धुलीमा उज्जवप्रसाद बराल र धादिङमा रमेश धमला छन् ।
यस्तै, काभ्रेपलाञ्चोकमा मधु आचार्य, मकवानपुरमा इन्द्रबहादुर बानियाँ, गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा वैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पङ्गेनी, पाल्पामा वीरबहादुर राना, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, नवलपरासीमा विष्णु लामिछाने र रुपन्देहीमा अब्दुल रज्जाक जिल्ला सभापतिमा विजयी भएका छन् ।
यसैगरी, मुस्ताङमा याङ्जिङ विष्ट, जाजरकोटमा दीपकजङ्ग शाह, सुर्खेतमा कमलराज रेग्मी, डोटीमा प्रदीप देउवा, वैतडीमा नरेन्द्रसिंह थापा र डडेलधुरामा कर्णबहादुर मल्ल सभापतिमा निर्वाचित भए ।
झापाका थापा र पाल्पाका राना सर्वसम्मत सभापति भएका हुन् । लमजुङ, चितवन, बर्दिया, प्यूठान, बाँके र ललितपुरमा कुनै पनि उमेद्वारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः निर्वाचन हुने भएको छ ।
निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले १ फागुनदेखि निर्वाचनको कार्यक्रम सुरु गरिने र १० फागुनसम्म सवै जिल्लाको अधिवेशन सकिने बताए। यस्तै, ६५ जिल्लाको क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ ।
बारा, पर्सा, सर्लाही, धनुषा, सप्तरी, सिरहालगायतका केही जिल्लामा मधेश आन्दोलनले क्षेत्रीय निर्वाचन समेत हुनसकेको छैन । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
