समाचारआइतबार, फाल्गुण २, २०७२
कांग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा
नेपाली कांग्रेसको १३औँ महाधिवेशनको उद्घाटन समारोह स्थानीय खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ ।
दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका १३ विभिन्न समितिका संयोजकको आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
“यसअघि महाधिवेशनको उद्घाटन समारोह दशरथ रङ्गशालामा गर्ने भनिए पनि खुलामञ्चमा गर्न उचित हुने सुझाव आएपछि आज निरीक्षण गरिएको छ, खुलामञ्च नै उद्घाटनका लागि उपयुक्त छ भन्ने निष्कर्षमा पदाधिकारी पुग्नुभएको छ”–निरीक्षणपछि केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भन्नुभयो ।
सभापति सुशील कोइरालाको निधन भएपछि माघ मसान्तसम्म जिल्ला अधिवेशनलगायत महाधिवेशन तयारीका काम स्थगन गरिएको थियो ।
कांग्रेस महाधिवेशनको तयारीका विषयमा सभापति कोइरालाको निधनपछि आज पहिलो पटक औपचारिक बैठक बसेको थियो ।
बैठकमा महाधिवेशनको व्यवस्थापन, निर्वाचन, स्वयम्सेवकलगायत विषयमा छलफल भएको र महाधिवेशन उद्घाटनको एक साता अगावै सबै तयारी सम्पन्न गर्ने गरी काम गरिने निर्णय समेत भएको केन्द्रीय सदस्य जोशीले जानकारी दिए ।
सभापति कोइरालाको आकस्मिक निधनले केही दिन महाधिवेशन तयारीका काममा बाधा पुगे पनि यही फागुन २० गते उद्घाटन गर्न भ्याउने गरी काम अघि बढेको कांग्रेसले जनाएको छ ।
आजको बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमका विषयमा पनि सामान्य छलफल भएको छ ।
कावा सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलालगायत नेता, उपलब्ध केन्द्रीय सदस्य एवम् तयारी गर्न गठन गरिएका १३ समितिका संयोजकको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
