अन्तर्वार्ता/विचारआइतबार, फाल्गुण २, २०७२
हार्ने मधेशवादी, जित्ने मधेश
मधेश, मधेशी र मधेशवादीलाई छुट्याएर हेर्ने हो भने यसपालिको आन्दोलनमा मधेशले जितेको देखिनेछ ।
आम मधेशीले स्वाभिमान वा आफ्नो परिचयमा अझ् स्पष्टता खोज्दै शुरू गरेको आन्दोलनमा मधेशवादीहरूले राजनीतिक रङ लगाउन खोजे भने राज्यले पनि आतंकवाद विरुद्धको कारबाही बिर्साउने व्यवहार गर्यो । मधेशवादीको हुँकार, नाकाबन्द, भारत यात्रा, बिहारमा प्रस्तुत निरीहता आदिलाई लिएर आन्दोलनमा विभिन्न सम्भावना जोडियो र अनेक चर्चा गरियो ।
तर, कुनै विवाद, अभियान, आन्दोलन वा युद्ध योजनाकारले आफ्नो तरीकाले शुरू गरे पनि अन्त्य पूर्वयोजना अनुसार नहुन सक्छ भनेझैं भयो– १७६ दिन लामो मधेश आन्दोलन र १३५ दिने रक्सौल नाकाबन्दीको नियति पनि ।
धेरैजसो कथामा सम्झनलायक परिघटना शुरूआत र अन्त्यमै हुने गर्छ । मधेश आन्दोलनको उद्देश्य सामाजिक रूपमा स्पष्ट रहे पनि मधेशवादीहरूले यति नराम्रो रंग लगाए कि कथा नै सम्झनलायक नरहने डर पैदा भयो ।
जनस्तरबाट संविधानको मस्यौदाप्रति असन्तुष्टि व्यक्त हुँदै र आन्दोलन उठ्दै गर्दा १७औं दिनमा भएको टीकापुर घटनाले उब्जाएका प्रश्न अझै अनुत्तरित छन् । मध्य तराई आज पनि टीकापुरप्रति दुःखी छ र जीवनबाट त्यो दिन हटाउन चाहन्छ ।
यद्यपि, त्यहीं सकिनु त्यो घटनाको सकारात्मक पक्ष रह्यो । टीकापुरमा सल्काइएको आगो त्यसका योजनाकारहरूले चाहेझैं मुलुकका अन्य भागमा सल्केको भए इतिहासले स्वीकार्नै नसक्ने चित्कारहरू सुन्नुपर्ने बाध्यता आउन सक्थ्यो ।
धन्न, समाज र समुदायले कहिलेकाहीं राजनीतिभन्दा माथि उठेर सोच्ने क्षमता प्रदर्शन गर्न सक्दोरहेछ । राजनीतिक इन्धनले त्यो आगो त्यहीं निभेबाट मधेशवादीको हार र मधेशीको जीत भयो ।
मधेश आन्दोलनभित्र बौद्विक–सांस्कृतिक पक्षको कुनै कमी थिएन । आन्दोलनलाई मानव साङ्लो र सडक कवितादेखि जागरण नाटकसम्मका मधेशी सभ्यता–शालीनता झल्काउने कार्यक्रमले उठाउँदै थियो ।
हो, मधेशमा अलि बढी गर्मी छ । सामाजिक रहनसहन पनि मध्यपहाडमा जति चम्किलो नहुन सक्छ, तर सरलता र शालीनताको कमी छैन मधेशमा ।
भारतसँगको भौगोलिक सामीप्यता मधेशको ठेगाना भए पनि देशको सीमा रक्षामा मधेश कोही भन्दा थोरै कटिबद्ध र कम इमानदार छैन । राष्ट्रियतामा मधेशले कहिल्यै बेइमानी गरेको छैन, खोजिहेरे हुन्छ ।
मनोज पण्डितको डकुमेन्ट्री फिल्म ‘ग्रेटर नेपाल’ मा भारतीय प्रशासनले हाम्रो देशको परिचय बोक्यौ भने यो सुविधा र त्यो सुविधा पाउँछौ भन्दा मधेशीहरूले त्यसलाई तिरस्कार गरेर नेपाली परिचयमा गर्व गरेको दृश्य धेरैले हेरेको हुनुपर्छ ।
यो मधेशीपन हो र मधेशीको जीत पनि हो, तर दुःखको कुरा मधेशवादीहरू भारतीय दूतावास र दिल्लीले नपुगेर लालु यादवहरू गुहार्न पुगे । यसबाट उनीहरू आम मधेशीको नजरमा पतीत भएका छन् ।
यो नजरमा पनि मधेशले जितेको छ ।
१७६ दिन लामो आन्दोलनको क्रममा एउटा पनि साम्प्रदायिक घटना नहुनु मधेशीको अर्को जीत हो । अघिल्ला आन्दोलनहरूमा गैरमधेशी समुदायका नेपाली पलायन भएको घटनाले मधेशलाई अझै पोलिरहेको छ । यो आन्दोलनमा त्यस्तो घाउ नथपियोस् भन्नेमा मधेश सचेत रह्यो र सफल पनि भयो ।
भारतसँग सीमा जोडिएका २० जिल्ला मधेश हो । मुलुकको केवल १४ प्रतिशत भूभाग ओगटेर ५०.२७ प्रतिशत जनसंख्यालाई आश्रय दिएको मधेशले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानको बखान गरिरहनुपर्दैन । मधेशी, थारू, मुश्लिम र पहाडी मधेशका मुख्य संस्कृति हुन् । मधेशमा यो बहुसंस्कृतिले जहिल्यै जित्दै आएको छ र कहिल्यै हार्ने छैन ।
हामीले गत सात दशकमा ७ वटा संविधान पायौं, ६ वटा राजनीतिक व्यवस्था हेर्यौं । यसक्रमका असन्तुष्टिहरू अझै बाँकी छन् र मधेश आन्दोलनले स्थायी अवतरण खोजेको छ ।
सबभन्दा राम्रो पक्ष चाहिं के भने, आन्दोलनले सामुदायिक सद्भाव कमजोर पार्न सकेको छैन । त्यसलाई कायम राख्नु आन्दोलनकारीको जिम्मेवारी हो ।
राजनीतिक लडाईंमा हार वा जीत होला, तर सामाजिकताले जित्नैपर्छ । यसपालिको मधेश राजनीतिमा कसले हार्यो, अझै स्पष्ट छैन, तर सामाजिकताले जितेको छ ।
पहाड र हिमाललाई मधेशको आग्रह छ– यो भूगोललाई जित्न सघाइयोस् । जनतालाई बेवास्ता गर्दै भारतीय दूतावास र दिल्ली धाउने मधेश–पहाड दुवैतिरका नेताका बारेमा पनि अब गम्भीर रूपले सोच्नुपर्छ ।