ब्लगआइतबार, फाल्गुण २, २०७२
भ्यालेन्टाइन किस
मानिसहरुबीच भौतिक वा भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने चुम्बन रोग सार्ने माध्यम पनि हो ।
आज १४ फेब्रुअरी, अर्थात् सन्त भ्यालेन्टाइन्स डे । सन्त भ्यालेन्टाइन वात्सल्य, श्रद्धा, आदर, सद्भाव र प्रेमका प्रतीक हुन् । वात्सल्य, श्रद्धा, आदर, सद्भाव र प्रेमदेखि कामवासनासम्म प्रकट गर्न चुम्बनको सहयोग लिइन्छ ।
सद्भाव व्यक्त गर्ने भौतिक प्रस्तुतिका क्रममा दुई व्यक्तिबीच स्पर्श, गन्ध, स्वादको सहभागिता हुन्छ । स्पर्शजन्य भौतिक प्रस्तुतिको सर्वाधिक प्रचलित माध्यम चाहिं चुम्बन नै हो । यस क्रममा एक जनाको ओंठले अर्को व्यक्तिको ओंठ वा शरीरका अन्य भागमा हल्का वा गहिरो स्पर्श गरिन्छ ।
प्राचीन कामशास्त्रले चुम्बनलाई यौन अपीलको आधारमा १५ किसिममा वर्गीकरण गरेको छ । आधुनिक समयमा फ्रेन्च किस, बटरफ्लाई किस, आइस किस, फ्रुटी किस, एअर किस, फ्लाइङ किस आदि प्रचलनमा छन् । फ्रेन्च किसमा ओंठ चुस्ने अनि मुखभित्र जिब्रो घुसारी चलाउने गरिन्छ । अभिवादन वा बिदाइ गर्दा ओंठ वा गालामा छोटो र छिटो चुम्बन गरिन्छ । कतिपय देशमा अभिवादन वा बिदाइमा दुवै गालामा पालैपालो तीन–चार पटक चुम्बन गर्ने चलन छ ।
यौन कार्य अगाडि बढाउन चाहिं ओठका साथै शरीरका अन्य संवेदनशील भागहरूमा गहिरो किसिमको चुम्बन हुन्छ । पशुपक्षीदेखि कीटपतङ्गसम्मका यौन गतिविधिमा प्रकृतिले चुम्बनको महत्वपूर्ण अभ्यास गराएको हुन्छ । यो सम्बन्धमा ‘परेवा चुम्बन’ प्रसिद्ध छ । परेवाले चुम्बनसहितको पाकक्रीडा पछि मात्र यौनसम्बन्ध कायम राख्छ ।
मानव समाजमा हलिउड चलचित्रको व्यावसायिक सफलतासँगै चुम्बनको चलन व्यापक भएको मानिन्छ । १९३० र ४० को दशकका हलिउड चलचित्रमा चुम्बनको रोमान्टिक फर्मुलाको व्यापक प्रयोग गरियो । त्यसवेलाका ९५ प्रतिशत चलचित्रमा चुम्बन दृश्य राखिन्थ्यो ।
आजकल बलिउड चलचित्रमा पनि चुम्बनको प्रयोग बढेको छ । चुम्बनको विषयमा ‘गिनिज बूक अफ वल्र्ड रेकड्स’ मा थरीथरीका रेकर्ड स्थापित छन् । यी सबको प्रभावले हुनसक्छ, हिजोआज नेपालका पनि शहरी क्षेत्रका कतिपय स्पटहरूमा जोडीहरूले प्रेमालाप र अधरपान गरिरहेका दृश्यहरू सामान्य बन्न थालेको छ ।
पन्ध्रौं शताब्दीको फ्रान्समा युद्धमा जान लागेका र सकुशल फर्केका योद्धाहरूलाई युवतीहरूले चुम्बन गरेर बिदाइ वा स्वागत गरिन्थ्यो । एकताकाको इटालीमा चुम्बनलाई यौन सम्पर्क बराबर मानिन्थ्यो । चुम्बन गरेको थाहा पाए त्यस्ता जोडीलाई विवाह गर्न बाध्य पारिन्थ्यो ।
अहिलेको मुस्लिम राष्ट्रहरूमा त्योभन्दा खराब स्थिति छ । चुम्बनको आशय यौन मात्र हुँदैन । अनुहार, हात वा जीउ सुम्सुम्याएर वा चुम्बन गरेर भौतिक तथा विभिन्न किसिमको भावनात्मक सान्निध्य अनुभूत गरिन्छ । विश्वका कतिपय समाजमा फोहोर र अन्धविश्वासका कारण चुम्बन गरिंदैन ।
यौन आशयका चुम्बन स्वभावैले ‘डिप’ किसिमको हुन्छ । यस्तो चुम्बनले एड्रिनालिन हर्मोन पैदा गरेर दुवैको शारीरिक ताप, रक्तचाप, मुटुको धड्कन वृद्धि गरिदिन्छ । यस्तो शारीरिक अवस्था स्वास्थ्यको लागि पनि राम्रो हुन्छ ।
चुम्बनका क्रममा अनुहारका ३४ मांसपेशी प्रयोगमा आउँछन् भने एक मिनेट चुम्बन गर्दा २६ क्यालोरी खर्च हुन्छ । चुम्बनले रक्तसंचार एवं मांसपेशीको कसरत बढाएर छालामा चमक ल्याउँछ । चुम्बनले दुवै जनालाई आनन्दित बनाउने र तनाव कम पार्ने त छँदैछ, रक्तचाप नियन्त्रणमा पनि भूमिका खेल्ने मानिन्छ ।
चुम्बनको एउटै खराब पक्ष भनेको कतिपय संक्रामक रोगको माध्यम हुनु हो । चुम्बनमा र्यालको माध्यमबाट इन्फेक्सियस मोनोन्यूक्लियोसिस, हर्पिसलगायत एचआईभी पनि सर्न सक्छ । एकको मुखमा घाउ वा अल्सर छ भने संक्रमण सर्ने डर बढी हुन्छ । दाँत, गिजा वा घाँटीको संक्रमणको कारणले सास गन्हाउने समस्या छ भने उपचार गराउनुपर्छ । नीलो चलचित्रमा जस्तै यौनाङ्गमा, खुट्टाको औंलामा चुम्बन गर्ने÷गराउने मनसाय छ भने ती अङ्गको सरसफाइमा ध्यान पुर्याउनुपर्छ ।
चुम्बन बलजफ्ती गर्ने कार्य होइन । पार्टनरको स्वीकृतिमा मात्र चुम्बन गर्नुपर्छ । चुम्बनका पारखीहरूले मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । आफ्नो पार्टनरको चाहना वा गुनासो अनुसार चुरोट, पान, सुपारी, पानपराग, गुट्खा, खैनी र मद्यपानबाट अलग रहनुपर्छ ।