समाचारआइतबार, फाल्गुण २, २०७२

सुशीललाई दुई रुपैयाँमा ट्युशन पढाउँथे: गुरु केशर

हिमालखबर

करिब ६५ वर्षअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई वीरगञ्जमा ट्युशन पढाउँथे गुरु  केशरप्रसाद मानन्धर ।

तस्वीर: सुरेश विडारी

तस्वीर: सुरेश विडारी

“त्यतिबेला वीरगञ्जमा भारतीय रुपैयाँ चल्थ्यो, नेपाली रुपैयाँ चलेको त धेरै पछि हो,” वीरगञ्ज–४ विर्तास्थित घरको पिढीमा बसेका मानन्धरले भने, “भारतीय २ रुपैयाँ मासिक पाउँथे ट्युशन पढाएको ।”

धेरै कुरा सम्झन धौ धौ हुने ९४ वर्षीय मानन्धरले सडक छेउको कोठा देखाउँदै भने, “त्यही कोठा त हो उसलाई पढाउने गरेको ।”

सुशील कोइरालाका बुवा वोधप्रसाद कोइराला त्यती बेला वीरगञ्जमा रेन्जर थिए । सरकारी जागिर शुरु गर्दा उनको पहिलो पोष्टिङ वीरगञ्ज भएको मानन्धरले बताए । “त्यही बेला सुशील पनि यहाँ आएर पढेको हो,” उनले भने ।

विर्ता मन्दिर अगाडि रहेको त्रिजुद्ध हाईस्कुलमा सुशील कोईरालाले कक्षा ६ र ७ मा पढेका थिए ।

“धेरै वर्ष भइसक्यो, सबै सम्झन पनि सक्दैन’ मानन्धरले दिवंगत कोइरालालाई सम्झँदै भने, “सुशील हँसमुख थियो, जेन्टल, कम बोल्ने । पढाईमा तेज पनि होइन, कमजोर पनि होइन ।”

“ उतीबेला हिन्दीमा पढाउने चलन थियो । ‘तुम’ भनेर हप्काउँथे, पिटनु चाहीं परेन उसलाई,” मानन्धरले उहिलेका कुरा सम्झिए ।

सुशीलका बुवा बोधप्रसाद ‘मर्निङ वाक’मा निस्कँदा मानन्धरको घर हुँदै फर्कने र छोराको पढाइ बारे सोध्ने गरेको उनी सम्झन्छन् ।

कोईरालाको मृत्युको खबरले ‘दिमाग खराब’ भएको पटक पटक दोहोर्‍याएका मानन्धरले अचेल भने निद्रामा समेत समेत सुशील कोइरालालाई देख्ने गरेको सुनाए ।

पछि आफू नेपालगञ्ज ससुराली गएका बेला कोइरालाले आफ्ना गुरुलाई गाडीमा राखेर घुमाएको भन्दै मानन्धरले नेपालगञ्ज भेटको करिब ५० वर्षपछि ०६८ सालमा वीरगञ्जमा कोइरालासँग भेट भएको बताए ।

कोइरालाका सहपाठी वीरगञ्जकै रामचन्द्र साहले गुरु अझै वीरगञ्जमा रहेको बताएपछि कोईराला विर्तास्थित घरमै आएर दुई घण्टा बसेर कुराकानी गरेको र सँगै बसेर फोटो खिचाएर लगेका रहेछन् ।

“५० वर्षपछि पनि सम्झिएर भेट्न आयो, उतीबेलाका कुरा गर्यौं, साथीहरुलाई पनि सोध्यो,” मानन्धरले भने ।

कोइरालाका पिताले भारतको देहरादुनबाट पढाई सकेपछि वन विभागको कार्यालय, वीरगञ्जमा रेञ्जर भएर आएका थिए ।

दुई वर्षपछि उनको सरुवा नेपालगन्ज भयो र कोइराला परिवार उतै वस्न थाल्यो ।

मानन्धरका छोरा दिवाकरकृष्णका अनुसार कोईरालाले पछिल्लो भेटमा मानन्धरलाई ‘तपाइँलाई के चाहिएको छ ?’ भनेर सोधेका रहेछन् । ‘प्रधानमन्त्री बन्नु र देशलाई सम्बिधान दिनु,’ मानन्धरको जवाफ रहेछ ।
-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>