समाचारआइतबार, फाल्गुण २, २०७२

आज नेपाल–भारतबीच फुटबलका दुई फाइनल

हिमालखबर

बाह्रौ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ आज नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् ।

पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार ३ फागुन साँझ ७:१५ बजे हुनेछ । त्यस्तै, नेपाल र भारतबीचकै महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४:१५ बजे हुनेछ ।

पुरुष फुटबलअन्तर्गत शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा बङ्गलादेशलाई ३–० ले पाखा लगाएको थियो ।

त्यस्तै, महिलातर्फ दक्षिण एसियाका पाँच टोली (नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का)मध्ये राउण्डरोबिनका आधारमा अङ्कतालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सिधै फाइनलमा प्रवेश गरेका हुन् ।

लिग चरणमा नेपालले श्रीलङ्कालाई ४–०, बङ्गलादेशलाई ३–०, माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो । यता भारतले श्रीलङ्कालाई ५–०, बङ्गलादेशलाई ५–१ ले हराएको थियो भने नेपाल र माल्दिभ्ससँगको खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो ।

त्यसैगरी, पुरुष फुटबलमा समूह ‘बी’ मा रहेको नेपालले भुटानलाई ५–० ले हराएको थियो भने बङ्गलादेशसँग १–२ ले नतिजा सुम्पिँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । साथै, समूह ‘ए’ को उपविजेता भएर चित्त बुझाएको भारतले माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो भने श्रीलङ्कासँग ०–१ को हार व्यहोरेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>