समाचारसोमबार, फाल्गुण ३, २०७२

कांग्रेसमा महाधिवेशनमा ३१८१ प्रतिनिधि

हिमालखबर

नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशनमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधिले भाग लिने निश्चित भएको छ ।

२४० निर्वाचन क्षेत्रबाट समावेशी प्रतिनिधित्वसहित निर्वाचित १२ जनाका दरले दुई हजार ८८०, विदेशस्थित १७ नेपाली जनसम्पर्क समितिबाट सात जनाका दरले ११९, पार्टीका १८ वटा भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ र केन्द्रीय पदाधिकारी एवम् सदस्य ८४ महाधिवेशन प्रतिनिधिले भाग लिने केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

३६ जिल्ला अधिवेशन सकियो
अहिलेसम्म ३६ जिल्ला अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । २५ माघमा धेरै जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भएकामा २६ माघमा सभापति सुशील कोइरालाको निधनले माघ मसान्तसम्म अधिवेशन रोकिएको थियो ।

बारा र पर्सा जिल्लामा प्राविधिक कारणले गाउँ अधिवेशनको प्रक्रिया बाँकी छ । ती जिल्लामा ४ फागुनदेखि नै निर्वाचन कार्यक्रम सुरु हुने भएको छ ।

“तराईका अन्य जिल्लामा पनि अधिवेशनको कार्यक्रम भइरहेको छ, धनुषा, सिरहा र सप्तरीको गाउँ अधिवेशन सम्पन्न भएको छ, रौतहटमा पाँच क्षेत्रको क्षेत्रीय अधिवेशन पनि सम्पन्न भई अरु क्षेत्र सकेर जिल्ला अधिवेशनको प्रक्रिया अघि बढेको छ”, केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले भने ।

बाँकी ३९ जिल्लाको अधिवेशन आगामी १० फागुनभित्रै सम्पन्न गर्ने गरी निर्देशन दिइएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए ।

“२० फागुनदेखि केन्द्रीय महाधिवेशन हुने भएकाले तयारीका लागि पनि नाम सूची १० गतेपछि बुझाउनुपर्छ, यसैले १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गराउन निर्देश गरिएको छ”, उनले भने ।

निर्वाचित सभापतिहरु
हालसम्म ६५ जिल्लाका २०३ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् । त्यस्तै आजसम्म सम्पन्न ३६ जिल्ला अधिवेशनबाट निर्वाचित भएका जिल्ला सभापतिमा ताप्लेजुङमा लीला पोखरेल, झापामा उद्धव थापा, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुङ्गामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सिन्धुलीमा उज्ज्वलप्रसाद बराल र धादिङमा रमेश धमला छन् ।

यसैगरी काभ्रेपलाञ्चोकमा मधु आचार्य, मकवानपुरमा इन्द्रबहादुर बानियाँ, गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा वैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पङ्गेनी, पाल्पामा वीरबहादुर राना, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, नवलपरासीमा विष्णु लामिछाने र रुपन्देहीमा अब्दुल रज्जाक जिल्ला सभापतिमा विजयी भए ।

यस्तै, मुस्ताङमा याङ्जिङ विष्ट, जाजरकोटमा दीपकजङ्ग शाह, सुर्खेतमा कमलराज रेग्मी, डोटीमा प्रदीप देउवा, बैतडीमा नरेन्द्रसिंह थापा, डडेलधुरामा कर्णबहादुर मल्ल, पाँचथरमा नवीन्द्र केरुङ, भोजपुरमा नन्दमणि राई, धनकुटामा अग्निप्रसाद पौडेल, नुवाकोटमा जगदीश्वरनरसिंह केसी, कपिलवस्तमा सुरेन्द्रराज आचार्य, मुगुमा खड्गबहादुर शाही, कालीकोटमा हर्षबहादुर बम, हुम्लामा जयपति रोकाया र बैतडीमा नगेन्द्रराज थापा सभापतिमा निर्वाचित भए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>