Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
टीम नेपालको विजयी सुत्र - Himalkhabar.com

खेलकुदमंगलबार, फाल्गुण ४, २०७२

टीम नेपालको विजयी सुत्र

सन्त गाहा मगर

football
गएको ५ माघमा बंगलादेशमा जारी बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी थियो, यु–२३ माल्दिभ्स । लोडसेडिङका कारण खेल हेर्न नपाएपछि ट्विटर बाहेक अपडेट हुने अरु उपाय थिएन । साँझ ६ बज्न केही मिनेट बाँकी छँदा नेपालले एक गोल गरेको ट्विट आयो ।

निकै उत्साहित हुँदै ‘नेपालले १–० गोलले लिड गरेछ’ भनेको सँगै रहेका मेरा साथीहरूले ‘नेपालले गोल चाहिं खायो होला’ भने । अर्को ट्विट हेरेर गोल नवयुग श्रेष्ठले गरेछन् नि भन्दा उनीहरूको प्रतिक्रिया थियोे ‘टीममा नवयुग थिए र ?’

फुटबलप्रेमी साथीहरूबाट यस्तो प्रतिक्रिया आउनुको पछाडि वास्तवमै बलिया आधारहरू थिए ।

पहिलो, तीन हप्ता पहिला मात्रै भारतमा सम्पन्न सुजुकी साफ च्याम्पियसीपमा नेपालको प्रदर्शन निराशाजनक थियो । त्यतिबेला अंक विहिन भएर समूह चरणबाटै बाहिरिएको थियो । नेपाल टोली ८ पुसमा श्रीलंकासँग १–० र भारतसँग ४–१ गोलको फराकिलो अन्तरले पराजित भएर घर फर्किएको थियो ।

दोस्रो, २३ पुसमा विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको वरियतामा नेपाल १९६ औं स्थानमा झरेको थियो । सन् १९९३ मा १२४ औं स्थानमा रहेको नेपालको त्यो फिफा वरियता इतिहासकै सबैभन्दा खराब हो । वरियतामा दक्षिण एसियाली देशहरूमध्ये नेपाल सबैभन्दा पुछारमा पुग्यो ।

तेस्रो, सन् १९९९ मा काठमाडौंमा आयोजित दक्षिण एसियाली खेलकुद (साग) यता कुनै पनि अन्तराष्ट्रिय टुर्नामेन्टको फाइनलमा पुग्न सकेको थिएन । सेमिफाइनल भन्दा माथि जान जहिल्यै स्कोरिङ बाधक बन्दै आएको थियो । २० भदौ २०७० मा दसौं साफमा भारतलाई पराजित गरे यता नेपालले एउटा पनि जित निकाल्न सकेको थिएन ।

चौथो, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापालाई फिफाले १० वर्ष प्रतिबन्ध लगाएको र राष्ट्रिय टोलीका कप्तान सागर थापा सहित चार खेलाडी र एक प्रशिक्षकलाई एसियाली फुटबल महासंघ (एएफसी)ले आजिवन प्रतिबन्ध लगाएको घट्नाले नेपाली फुटबलको नुर गिरेको थियो । उनीहरूले गरेको गल्तीमा नेपाली फुटबललाई सजायको भागीदार बनाएको अवस्था थियो ।

पाँचौ, बंगबन्धु कपकै समूह चरणमा पनि नेपालको प्रदर्शन ‘वाह !’ भन्न लायक छँदै थिएन । श्रीलंकालाई १–० गोलले पराजित गरेको नेपाल आयोजक बंगलादेश र मलेसियाको फेल्डा युनाईटेड क्लबसँग गोल रहित बराबरी खेलेर समूह ‘ए’ उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो ।

समूह चरणका तीन वटै खेलमा नवयुग श्रेष्ठले पनि गोल गरेनन् । डेढ वर्ष यता घरेलु लिगमा ‘हाई स्कोरर’ नवयुगले बंगबन्धु कपमा यु–२३ माल्दिभ्स विरुद्ध ३१ औं मिनेटमा अन्तराष्ट्रिय गोलको खाता मात्रै खोलेनन्, ६२ औं र ९२ औं मिनेटमा गोल थपेर ह्याट्रिक पूरा गरे ।

फाइनलमा यु–२३ बहराईनलाई ३–० गोल अन्तरले पराजित गर्ने क्रममा एक गोल गरेका नवयुग बंगबन्धुमा ‘हाई स्कोरर’ र ‘मोस्ट भ्यालुबल प्लेयर’ घोषित भए । स्मरणीय के छ भने राष्ट्रिय टीम नाम दिइए पनि बंगबन्धुमा नेपालले यु–२३ लाई नै उतारेको थियो ।

नवयुगको उच्च प्रदर्शन मद्दतले ढाकामा पाएको बंगबन्धुको सफलतालाई कतिपय आलोचकहरू कागताली लागेको भन्न समेत पछि परेनन् । ३ फागुनमा साग फुटबलमा भारतलाई पराजित गरेर स्वर्ण पदक जितेपछि भने कागताली लागेको भनेर आलोचना गर्नेहरूले नै नेपाली फुटबलमा नवयुग शुरु भएको भन्न थाले ।

४१ औं मिनेटको टर्निङ प्वाईन्ट
दक्षिण एसियाली फुटबल महारथी भारतलाई उसकै घरेलु मैदानमा पराजित गर्ने ल्याकत कहाँबाट आयो ? फुटबल विश्लेषक नविन पाण्डे भन्छन्, “प्रशिक्षक र खेलाडीले स्वतन्त्र रुपमा आफ्नो प्रतिभा देखाउन पाएपछि नेपालले एकपछि अर्को सफलता हात पारेको हो ।” उनका शब्दमा नेपाली फुटबलमा दुई दशकदेखिको ‘सिण्डिकेट’ कायम रहेको भए नवयुग श्रेष्ठ जस्ता प्रतिभावान खेलाडीले राष्ट्रिय टीमबाट खेल्ने अवसर पाउने थिएनन् ।

हुन पनि २६ वर्षीय नवयुगले गएको १५ भदौमा मात्रै राष्ट्रिय टीममा डेब्यु गरेका हुन । भारतको पुनेमा भएको मैत्रीपूर्ण खेलमा प्रशिक्षक प्याट्रिक ओसेम्सले जगजित श्रेष्ठलाई सब्टिच्यूट गरेर नवयुगलाई पठाएका थिए ।

इलाम, मंगलबारेको उदित क्लबबाट फुटबल खेल्न थालेका नवयुगले राष्ट्रिय टीममा डेब्यु गर्नुअघि हिमालयन शेर्पाको ‘बि डिभिजन’ हुँदै त्रिभुवन आर्मी क्लबबाट २०६७ मा ‘ए डिभिजन’ खेल्न शुरु गरेका थिए । हेमन गुरुङलाई पनि प्याट्रिकले पहिलो रोजाईमा राखे ।

विश्लेषक पाण्डेका अनुसार राम्रो भन्दा पनि हाम्रो मान्छेलाई टीममा स्थान दिनु नेपालले यसअघि अपेक्षित नतिजा दिन नसक्नुको एउटा महत्वपूर्ण कारण थियो । खरो स्वभावको प्रशिक्षकको पहिचान बनाएका बेलायतका पूर्व फुटबलर ग्राह्म रोबर्टकै पालामा समेत राष्ट्रिय टीमको खेलाडी छनौटमा एन्फा नेतृत्व हावी हुन्थे । ग्राहमले सार्वजनिक रुपमै एन्फा नेतृत्वले स्वतन्त्र ढंगले काम गर्न नदिएको बताएका थिए । विश्व कपको छनौट चरण शुरु हुने बेला समेत मैदान उपलब्ध नगराएको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए ।

ग्राहम मुख्य प्रशिक्षक रहेका बेला राष्ट्रिय टीमको सहायक प्रशिक्षक रहेका मेघराज केसी अहिले नेपाली टीमको ‘स्ट्रक्चर’ बलियो भएको बताउँछन् । उनी भन्छन्, “फुटबलमा जित्न टीम वर्क चाहिन्छ, अहिले हामीले मजबुत टीम पाएका छौं । जहाँ नवयुग जस्ता एक्स्ट्राअर्डिनरी प्रतिभा छन् ।” त्रिभुवन आर्मी क्लबको प्रशिक्षक रहेका केसी २१ महिना यता नवयुगको प्रतिभा तिखार्न लागेका छन् । उनको मूल्यांकनमा ‘फाइनल टच’ नवयुगको सबैभन्दा बलियो पक्ष हो ।

राष्ट्रिय टीमबाट सबैभन्दा बढी गोल गरेको कीर्तिमानी राखेका हरि खड्का नवयृुगमा ‘सही समयमा, सही स्थानबाट सही निर्णय’ गर्न सक्ने क्षमता देख्छन् । नवयुगका अलावा विमल घर्ती मगर, अन्जन विष्ट, प्रकाश बुढाथोकी जस्ता खेलाडीहरूले स्कोरिङको अभाव हुन नदिने उनको विश्वास छ ।

राष्ट्रिय टीमको सहायक प्रशिक्षक रहिसकेका खड्का गुवाहाटीस्थित इन्द्र गान्धी एथ्लेटिक स्टेडियममा १–० गोल अन्तरले पछि परेको अवस्थालाई उल्ट्याएर नतिजा आफ्नो पक्षमा पार्नुमा टीम नेपालका प्रशिक्षक राजुकाजी शाक्यको रणनीतिले काम गरेको बताउँछन् ।

खड्का भन्छन्, “४१ औं मिनेटमा प्रकाश बुढाथोकीलाई मैदानमा पठाउने राजु दाईको निर्णयको प्रत्यक्ष असर नतिजामा देखियो ।” सन् १९८४ र १९९३ मा स्वर्ण जित्दा टीमबाट खेलेका शाक्यले मैदान भित्रको कमजोरी सही समयमा पहिचान गरेको उनी बताउँछन् । सेमिफाइलनमा माल्दिभ्ससँगको खेलमा दोहोरो पंहेलो कार्ड पाएर मैदान छाडेका कमल श्रेष्ठको सट्टा मैदानमा उतारेका मानबहादुर तामाङलाई प्रकाशले सब्टिच्यूट गरेका थिए ।

फुटबल विश्लेषक संजीव मिश्र प्रकाशको प्रवेशपछि विशाल राई र विक्रम लामाले खुलेर खेल्न पाएको बताउँछन् । फुटबललाई ‘गेम अफ मिस्टेक’ पनि भन्ने गरिन्छ । नतिजा विपक्षीको गल्तीलाई अवसरमा बदल्न सक्ने टीमको पक्षमा जान्छ ।

घरेलु दर्शकको साथ पाएको भारतीय टोली मध्यान्तरसम्म एक गोलले अगाडि भएपछि दोस्रो हाफमा ओभर कन्फिडेन्ट देखियो । विश्लेषक मिश्र भन्छन्, “भारतीय खेलाडीहरूको १३–१५ मिनेटको ओभर कन्फिडेन्टलाई हाम्रा खेलाडीले अवसरमा बदले ।”

विगत आठ–दश वर्ष यता नेपाली टोलीले दाँया–बाँयाबाट बल लगेर विपक्षीको पोष्ट आक्रमण गर्दै आएको थियो । खासगरी बंगबन्धु कप यता ‘आक्रमण रणनीति’ नै बदिलएको छ । अन्जन, प्रकाश लगायतका खेलाडी सिधै बीचबाट बल लगेर आक्रमण गर्छन् । विश्लेषक मिश्र भन्छन्, “बीचबाट आक्रमण गर्दा विपक्षीले बढी गल्ती गर्ने रहेछ । भारतसँगको खेलमा पनि अन्जनको बलमा उनीहरूले धेरै फाउल गरे ।”

शुरुको २० मिनेट दबाबमा खेलेर पनि गोल हुन नदिनुलाई मिश्र डिफेन्स लाइनको सफलता मान्छन् । त्यो समयमा हाम्रा खेलाडीहरूको खुट्टामा बल नै नपरे जस्तो देखिन्थ्यो । विपक्षी टीमका जेरी मविहमिङगा र कुमाम उदन्त सिंहलाई नियन्त्रणमा राख्न निर्देशन दिएका टीम नेपालका प्रशिक्षक शाक्यको रणनीतिले पहिलो २० मा काम गरेन ।

सेमिफाइनलमा गोलकिपर विकेश कुथुले केही विर्सन लायक गल्ती गरेका थिए । तर फाईनलमा भने उनले उच्च प्रदर्शन गरे । राष्ट्रिय टीमको गोलकिपिङ कोच रहिसकेका उपेन्द्रमान सिंह भन्छन्, “भारतलाई फाइनलमा पराजित गर्नमा गोलकिपरको भूमिका महत्वपूर्ण रह्यो ।” ७१ औं मिनेटमा २–१ गोलले अग्रता लिए पनि अतिरिक्त समयको अन्तिम मिनेटसम्म विकेशले पटक पटक उत्कृष्ट बचाउ गरिरहे । सिंहका अनुसार बंगबन्धुको सफलताले खेलाडीहरूको मनोबल पनि उच्च थियो । सबै खेलाडीले समर्पित भएर टीमका लागि खेलेको उनको बुझाई छ । सिंह भन्छन्, “खेलाडीहरूले विना दवाव देश सम्झेर खेल्दा उपाधि जित्यौं ।”

जितको जिम्मेवारी
मध्यपुर क्लबदेखि विकेशलाई प्रशिक्षित गर्दै आएका सिंहको गोलकिपर लगायत सबै खेलाडीलाई सुझाव छ, “अब जितले दिएको जिम्मेवारी जोगाउन लाग्नुपर्छ ।” फरवार्ड, मिडमिल्ड, डिफेन्स र गोलकिपिङमा एक से एक राम्रा खेलाडी टीम बाहिर पनि रहेकाले मिहिनेत नगर्ने खेलाडी जुनसुकै बेला टीममा नपर्ने उनी बताउँछन् । सिंह भन्छन्, “प्रशिक्षकले पर्फमेन्स हेरेर खेलाडी लिन्छ ।”

राष्ट्रिय टीमका पूर्व स्ट्राईकर हरि खड्का खेलाडीहरूलाई अत्याधिक ‘हिरोइज्म’ बाट बच्न सुझाव दिन्छन् । गोल गर्दा भगवानै मान्ने र सानो गल्ती गर्दा दानव ठान्ने प्रवृत्ति फुटबल विकासमा बाधक भएको उनको बुझाई छ ।

जस्तो १६ वर्षमा पाकिस्तान विरुद्ध एक गोल गरेपछि विमल घर्ती मगरलाई एकाएक स्टारको रुपमा प्रस्तुत गरिनुलाई उनी सही ठान्दैनन् । खड्का भन्छन्, “विमल असाधारण प्रतिभावान खेलाडी हो भन्नेमा शंकै छैन । तर उनी भोलिका स्टार हुन ।” दुई वर्ष अघिदेखि नै स्टारको रुपमा प्रस्तुत गर्दा उनी माथि अनावश्यक अपेक्षा बढेको उनको विश्लेषण छ ।

नेपाली प्रशिक्षकले दुई वटा उपाधि दिलाएपछि विदेशी प्रशिक्षक चाहिँदैन भन्ने आवाज उठ्न थालेको छ । नेपाली प्रशिक्षकहरू क्षमतावान नभएका पनि होइनन् । तर विदेशी प्रशिक्षकको भूमिकालाई नजरअन्दाज गर्नु भने आफैमा अतिशयोक्तिपूर्ण हुने जानकारहरू बताउँछन् ।
टीम नेपालको विजयी सुत्र

राष्ट्रिय टीमका पूर्व सहायक प्रशिक्षक मेघराज केसी भन्छन्, “नेपाली कोचहरू आफैमा सक्षम हुनुहुन्छ तर विदेश कोच चाहिँदैन भन्नु गलत हो ।” हाम्रो स्तर दक्षिण एसियाबाट एसिया हुँदै विश्वकपमा पुर्याउन विदेश प्रशिक्षक ल्याउँदा अन्यथा नहुने केसी बताउँछन् ।

हुन पनि हामी कहाँ अझैसम्म एएफसीबाट ए क्लब कोचको लाइसेन्स पाएका प्रशिक्षक छैनन् । सन् १९८४ मा स्वर्ण पदक जित्ने बेलामा जर्मनीका जोन फिजी प्रशिक्षक थिए ।

प्रशिक्षक केसी हाम्रो फुटबललाई माथिल्लो तहमा पुर्याउन राम्रो क्लब वा देशमा अनुभव बटुलेका प्रशिक्षकबाट सिक्न हिचकिचाउन नहुने बताउँछन् । हामीले विर्सन नहुने के छ भने फिफा वरियतामा नेपालको अहिलेको स्थान–१८८ छ । यो अन्तिमबाट १८ स्थानमात्रै माथि हो ।

‘सेल्फी खिचेर पुग्दैन’
२३ वर्षपछि स्वर्ण पदक जितेको टीम नेपालको अगाडि जितलाई जोगाई राख्ने सबैभन्दा ठूलो चुनौति छ । यस्ताे बेलामा एन्फासँग आगामी दुई वर्षसम्म खेलाडीलाई एङ्गेज गरी राख्ने एउटा पनि प्रतियोगिता छैन ।

२०१७ को अन्तिममा बंगलादेशमा हुने साफ च्याम्पियनसीप नै सबैभन्दा नजिकको प्रतियोगिता हो । साविक विजेताको हैसियतले निमन्त्रणा आयो भने मात्रै एक वर्षपछि बंगबन्धु कप खेल्न पाईन्छ ।

गएको भदौमा यु–१९ लाई साफ च्याम्पियन र बंगबन्धु कप जिताएका प्रशिक्षक बालगोपाल महर्जन प्रतियोगिता नभए पनि खेलाडीलाई बाह्रै महिना बिजी राख्नुपर्ने बताउँछन् । तालिम सँगै सुविधाको हिसाबले पनि खेलाडीलाई फुटबल बाहेक अन्त ध्यान जाने अवस्था आउनै दिन नहुने उनको सुझाव छ । उनी भन्छन्, “ खेलमै भविष्य सुरक्षित छ भन्ने ग्यारेण्टी गराउन सक्नु पर्दछ ।”

विश्लेषक पाण्डेका अनुसार प्रर्याप्त तालिम, एक्स्पोजर र सुविधा दिनसक्ने हो भने नेपाली फूटबल धेरै माथि जान्छ । उनी भन्छन्, “सरकार र एन्फा गंभिर हुने भने हामीलाई दक्षिण एसियामा पावर हाउस बन्न कठिन छैन ।”

जितेर फर्कदा एयरपोर्टमा स्वागत गर्ने, प्रधानमन्त्री/मन्त्रीहरूसँग सेल्फी खिचाउने र दुई चार ठाउँमा सम्मान गरेर मात्रै फुटबल विकास नहुने जानकारहरू बताउँछन् । प्रशिक्षक केसी भन्छन्, “तत्काल दीर्घकालिन योजना बनाएर अघि नबढ्ने हो भने दुई वर्षपछि हामी अहिले भन्दा पनि कमजोर अवस्थामा पुग्न सक्छौं ।” पाँच वर्षमा कहाँ पुग्ने, दश वर्षमा कहाँ पुग्ने भन्ने योजना आवश्यक भएको उनी बताउँछन् ।

१२ बैशाखको विनासकारी महाभूकम्पले क्षति पुगेको दशरथ रंगशाला अभ्यास गर्न लायक छैन । एक दिन पनि अभ्यास नगरी बस्न नहुने खेलाडीहरूका लागि अन्तराष्ट्रिय स्तरको एउटा पनि रंगाशाला छैन । १३ अक्टोबर १९७२ मा बेइजिङमा गएर अन्तराष्ट्रिय फुटबल खेल्न शुरु गरेको नेपालको अहिलेसम्म एउटै रंगशाला नहुनु भन्दा ठूलो विडम्बना के होला ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>