खेलकुदबुधबार, फाल्गुण ५, २०७२
स्वर्ण विजेता टोलीको झापामा भव्य स्वागत
भारतमा आयोजित दक्षिण एशियाली खेलकुद अन्तर्गत फुटबलमा स्वर्ण पदक विजेता नेपाली टोलीलाई काकडभिट्टामा भव्य स्वागत गरिएको छ ।
पूर्वी सीमा नाकाबाट नेपाल प्रवेश गरेको विजयी टोलीलाई ५ फागुन दिउँसो काकडभिट्टा सीमामा जिल्लाका फुटबलप्रेमी, सरकारी अधिकारी, शिक्षक, विद्यार्थी र खेलाडीहरुले भव्य स्वागत गरेका हुन् ।
३ फागुनमा आयोजित खेलमा भारतलाई २–१ गोल अन्तरले पराजित गरेको टोलीको स्वागतका लागि खेलकुद मन्त्री सत्यनारायण मण्डल समेत काँकडभिट्टा पुगेका थिए ।
यसैबीच झापा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको सम्मान ग्रहण गर्दै प्रशिक्षक राजु शाक्यले भने, “नेपाली खेलले मुलुकलाई फेरि एकपटक खुशी दिएको छ ।”
सिलोङ गुहाटीबाट हवाई मार्ग हुँदै मध्याह्न १२ बजे पश्चिम बंगालको बागडोगरा विमानस्थल अवतरण गरेको नेपाली फुटबल टोली त्यहाँबाट सडकमार्ग हुँदै झापा प्रवेश गरेको हो ।
अाजै दिउँसो ३:५० बजे टोली झापाको भद्रपुरबाट हवाइमार्ग हुँदै काठमाडौंतर्फ लागेको छ ।
गोपाल गडतौला, काँकडभिट्टा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
