समाचारबिहीबार, फाल्गुण ६, २०७२

सभापतिमा आफूलाई सहयोग गरेर प्रधानमन्त्री बन्न देउवाको पौडेललाई प्रस्ताव

हिमालखबर

कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले कार्यबाहक सभापति रामचन्द्र पौडेललाई आसन्न महाधिवेशनमा सभापति पदका लागि आफूलाई सहयोग गरेर प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।

५ फागुनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा देउवाले पौडेलसँग आफूलाई पार्टी सभापति बन्नका लागि सहयोग गर्न र उनी चाहीं प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव गरेको बताए ।

देउवाको यस्तो प्रस्ताव अस्वीकार गर्दै पौडेलले भने आफू नै पार्टी सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।

बुढानिलकण्ठस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, “म पार्टी सभापति र रामचन्द्रजी प्रधानमन्त्रीमा बस्दा पार्टी एकताको सन्देश पनि जान्छ र पार्टी एकढिक्का पनि हुन्छ । म उहाँलाई प्रधानमन्त्रीमा सघाउँछु ।”

पार्टीलाई एक बनाउने र अहिलेका राष्ट्रिय मुद्दालाई सम्वोधन गर्ने प्राथमिकताकासाथ आफू सभापति हुन चाहेको देउवाले बताएका छन् ।

“कसैलाई काखा कसैलाई पाखा गर्दैन, सबैलाई समेटेर अघि बढ्छु, पार्टी एक ढिक्का बनाउँछु,” उनले भने, “हिजोजस्तो पार्टीलाई अनिर्णयको बन्दी हुन दिन्न ।”

नेता विमलेन्द्र निधि र पूर्णबहादुर खड्कालाई वरिपरी राखेका देउवाले प्रजातन्त्र दरबारलाई बुझाएको भन्ने आरोपको खण्डन गरे। आफूलाई सभापति हुनबाट रोक्न गलत प्रचारवाजी भइरहेको भन्दै देउवाले थपे, “विपी र म नेपालका यस्ता मान्छे हौँ जो निर्वाचित भएर पनि राजाका पालामा पदबाट बर्खास्त हुनुपर्यो।”

राजाको पालामा प्रधानमन्त्री पद नै खोसिएका मान्छेलाई प्रजातन्त्र नै दरबारलाई बुझायो भन्ने गलत प्रचार गर्ने, झुठा आरोप लगाउने काम भइरहेको भन्दै देउवाले आक्रोश पोखे ।

उनले भने, “हिजो पार्टी एकीकरण गिरिजावावु र मैले नै गराएको हो। अहिले गिरिजाबाबु हुनुहुन्न। उहाँ पछिको व्यक्ति मै हो। उहाँसँगै मेरो सहमति भएको थियो।”

उनले आफू प्रजातन्त्र बचाउन र कांग्रेस पार्टीका लागि जुँगाको रेखी नबस्दैदेखि लागेको र पटक पटक जेल जाउनु परेको बताए ।

मधेशी, थारु, महिला, जनजाति, दलितलगायतको समस्या समाधानका लागि आफ्नो तत्परता र अग्रसरता रहने बताउँदै देउवाले भने, “राष्ट्रिय मुद्दाहरुलाई समाधान गर्दै देशलाई एक बनाउने काम म गर्न सक्छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>