समाचारशुक्रबार, फाल्गुण ७, २०७२
राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय एकताप्रति सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा ६६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले स्वतन्त्र, स्वाधीन, सार्वभौम र समृद्ध राष्ट्र निर्माणका लागि आजको दिनले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहे का प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र आम नेपाली जनतासँग मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सहकार्यको लागि हार्दिक आग्रह पनि गरे ।
प्रधानमन्त्री ओलीले भने, “नेपाली जनताले सङ्घर्षबाट जहानियाँ निरङ्कुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिन आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा म आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दै यस उपलक्ष्यमा नेपाल र सम्पूर्ण नेपालीको उज्ज्वल भविष्यको कामना गर्दछु।’’
उनले लोकतन्त्र, न्यायपूर्ण, स्वतन्त्र र समुन्नत नेपाल निर्माणका लागि २००७ सालअघि र त्यसपछिका जनआन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति नेपाल सरकारका तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीप्रति उच्च सम्मान प्रकट गरे ।
विसं २००७ देखि नेपाली जनताले गरेको सङ्घर्षको परिणाम जननिर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते नेपाली जनताका आफ्नै प्रतिनिधिद्वारा लेखिएको संविधान जारी भएको बताउँदै प्रधानमन्त्री ओलीले यो संविधानले सबै नेपालीलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हक समानरुपमा प्रदान गर्नुका साथै सामाजिक न्यायको प्रत्याभूति गरेको बताए ।
संविधान जारी भएपछि यसका केही प्रावधानलाई लिएर प्रकट भएका असन्तुष्टि, असहमति र गुनासाको सम्बोधनका लागि वार्ता र संवाद हुँदै आएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले संविधानको पहिलो संशोधनबाट ती गुनासा र असन्तुष्टि आधारभूतरुपमा सम्बोधन भएको धारणा राखे ।
केही असहमति वा गुनासा भए वार्ता र संवादकै माध्यमबाट सम्बोधन गर्न सकिने बताउँदै प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान खोज्ने निरन्तरको प्रक्रियामा संलग्न रहन सबै पक्षलाई आग्रह गरे ।
समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसद, सुरक्षा निकायका उच्च अधिकारी, संवैधानिक निकायका पदाधिकारी, कूटनीतिक निकायका प्रतिनिधि, उच्च सरकारी पदाधिकारीलगायत सहभागी थिए ।
विसं २००७ फागुन ७ गते १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६६औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।