समाचारआइतबार, फाल्गुण ९, २०७२

वितरण सुधार नभए कार्वाही गर्ने आयल निगमलाई अख्तियारको चेतावनी

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थको वितरण सहज नभएको खण्डमा नेपाल आयल निगमका उच्च पदाधिकारीलाई कारबाहीको दायरमा ल्याउने चेतावनी दिएको छ ।

आयोगले आज निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र निर्देशक मुकुन्द्रप्रसाद घिमिरेलाई बोलाएर इन्धन वितरण पारदर्शी नभएको, उपभोक्ता लाइनमा बस्नु परेको र अझै पनि कालोबजारी मौलाइरहेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएको हो ।

भारतको नाकाबन्दी खुलिसकेको, प्रमुख भन्सार नाका वीरगन्जसमेत सहज भइसकेको अवस्थामा पनि पेट्रोलपम्पका अगाडि लामा–लामा लाइन हुनु जायज नभएको, त्यसमा निगम प्रशासनको लापरबाही देखिएको भन्दै आयोगले सचेत गराएको र समस्या समाधान नभए कारबाहीको दायरमा ल्याउने चेतावनीसमेत दिएको प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए ।

हाल वीरगन्ज नाकाबाट कूल मागको ७० प्रतिशत मात्रै पेट्रोलियम पदार्थ आयात भइरहेको छ भने अन्य भन्सार नाकाबाट पनि मागअनुसारकै इन्धन आयात भइरहेको छ ।

निगमका प्रमुख खड्काले हाल काठमाडौँ उपत्यकामा दैनिक पाँच लाख ५० हजार लिटर पेट्रोल र सोही परिमाणमा डिजेलसमेत वितरण गरिएको जानकारी दिए ।

सामान्य अवस्थामा उक्त परिमाण बढी नै भएपनि असहज अवस्थापछिका लागि भने पुग्दो हुन नसकेको उनले बताए ।

निगमका अनुसार वीरगन्ज नाकाबाट सामान्य अवस्थामा २६ लाख लिटर इन्धन आयात हुने गरेकोमा हाल २० लाख लिटर मात्रै आयात भइरहेको छ ।

कूल आयातको ७० प्रतिशत बढी आयात हुने सो नाका सामान्य भएपनि इन्डियन आयल कर्पोरेसनले मागअनुसार इन्धन नदिएको निगमको दावी छ ।

यस्तै सामान्य अवस्थामा ६० बुलेट खाना पकाउने ग्यास आयात हुने गरेको नाका खुलिसकेपछि पनि हाल दैनिक ४० बुलेट मात्रै ग्यास आयात भइरहेको छ ।

सिलिण्डरको अभावमा उद्योगमा आइपुगेका बुलेटसमेत खन्याउन सकिएको छैन भने बढी मूल्य लिएर बिक्री वितरण गर्ने गुनासो आइरहेको भन्दै त्यसलाई सामान्यकीकरण गर्ने प्रयास भइरहेको खड्काको भनाइ छ ।

“भारतीय पक्षसँग सघन छलफलमा छौँ, सामान्य अवस्थामा भन्दा बढी उपलब्ध गराइदिन आग्रह गरेका छौं, हाम्रो आग्रहअनुसार आयात बढिरहेको छ, तर ६ महिना भन्दा बढी समय असहज रहेको बजार सामान्य हुन अझै केही समय लाग्न सक्छ” खड्काले भने ।

खाना पकाउने ग्यास सहज हुन नसक्नुको पछाडि ग्यास उद्योगीको पनि केही कमजोरी रहेको र समस्या तत्काल समाधान गर्न भनेको उनले बताए ।

भारतमा भन्दा नेपालमा इन्धन सस्तो
निगमका प्रवक्तासमेत रहेका घिमिरेले रक्सौलमा भन्दा वीरगन्जमा इन्धनको मूल्य सस्तो भएका कारण पनि गैरकानुनीरुपमा कारोबार भइरहेको सूचना निगममा आएको बताए ।

पेट्रोल रक्सौलामा भन्दा वीरगन्जमा रु ४.५६ पैसा र डिजेल रु ३.२३ पैसा सस्तो रहेको छ ।

अन्तर्राष्ट्रिय बजारअनुसार आफूहरु अझै पनि मूल्य समायोजन गर्न तयार रहेको उनको भनाइ छ ।

हवाई इन्धनको मूल्य समायोजन पछि बजार सहज भएको बताउँदै उनले पेट्रोल, डिजेल र मट्टीतेलको पनि मूल्य समायोजन गर्ने तयारी गरिएको जानकारी दिए ।

आइओसीले हरेक महिनाको एक गते र १५ गते पठाउने मूल्यसूचीका आधारमा नेपालको बजार मूल्य निर्धारण हुने प्रवक्ता घिमिरेले बताए ।

‘वितरण प्रणाली सुधार गर्छौँ’
निगका प्रमुख खड्का र निर्देशक घिमिरेले आयोगलाई वितरण प्रणाली सुधार गर्ने प्रतिवद्धता जनाएका छन्् ।

सामान्य अवस्थामा जस्तै पेट्रोल बिक्री गर्ने पम्पलाई पेट्रोल र डिजेल बेच्ने पम्पलाई डिजेल वितरण गर्ने निगमको तयारी छ ।

यस्तै कारबाहीमा परेका पम्प बाहेक अरुलाई मागअनुसार नै इन्धन दिने प्रतिवद्धता समेत निगमले आयोग समक्ष जनाएको छ ।

“सहज रुपमा वितरण गर्न कसरी सकिन्छ भन्ने बारेमा हामी प्रष्ट अवधारणा ल्याउँछौँ” उनले भने ।

काठमाडौँ उपत्यकामा हाल एक हजार ३०० किलोलिटर पेट्रोल, चार हजार २०० किलोलिटर डिजेल, २९० किलोलिटर मट्टीतेल र तीन हजार ७०० किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>