समाचारआइतबार, फाल्गुण ९, २०७२
सत्यनिरुपण तथा मेलमिलाप आयोगमा विवाद
सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य माधवी भट्ट पराजुलीले पीडितलाई न्याय दिने कुरा गर्दा आफू प्रवक्ताबाट हटाइएको दाबी गरेकी छन् ।
द्वन्द्वमा प्रयोग भएका बालबालिकाको सवालमा महत्वपूर्ण निर्णय गर्नुपर्छ भनी आफूले प्रस्ताव गर्दा आयोगको प्रवक्ताबाट हटाइनुका साथै भविष्यमा भूमिका बिहिन बनाइने अध्यक्ष सूर्यकिरण गुरुङले चेतावनी दिएको भट्टले बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भट्टले लेखेकी छन्, “ मलाइ प्रवक्तावाट यस्तो समयमा हटाइएको छ जतिवेला मैले द्वन्दमा प्रयोग गरिएका बालवालिकाको सवालमा आयोगले महत्वपूर्ण निर्णय गर्नुपर्छ भनेर राखेको मौखिक प्रस्तावको सुनुवाइ नभएपछि लिखित प्रस्ताव पेश गर्ने तयारी गर्दै थिएँ । यसको जानकारी अध्यक्ष र सदस्यहरुलाइ पनि गराइसकेको थिए ।”
आयोगका अध्यक्ष र सदस्यहरु भित्री रुपमा शक्ति केन्द्रवाट वाट परिचालित छन भन्ने आफूलाई आशंका भएको भन्दै उनले हजारौ द्वन्द पीडितलाइ न्याय दिन गठित आयोग अपारदर्शी र गैर कानूनी रुपमा चलेको समेत आरोप लगाएकी छन् ।
उनले अगाडि भनेकी छन्, “आयोगका अध्यक्ष र सदस्यहरु मेरा विरुद्ध उत्रिए पनि म आयुक्तको रुपमा आयोगको काममा विगतमा जस्तै सक्रिय रहिरहनेनै छु । मानवता विरोधी कार्यमा संलग्नलाइ सुनपानी छर्कने काम म वाट हुने छैन ।”
आज, ९ फागुनमा बसेको आयोगको बैठकमा गत विहीवारको बैठकको निर्णय र प्रक्रिया गलत भएकोले अव बैठक प्रकियाकावारे थप छलफल गर्नुपर्ने र आयोगलाइ पारदर्शी र प्रभावकारी बनाउने दिशामा छलफल गरेर मात्र थप अघि बढ्नुपर्ने माग राख्दा आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले ठाडो प्रतिवाद गर्दै ‘म तपाइँलाइ भविष्यमा कुनै भूमिका दिन्न’ भनेको उनले फेसबुकमा लेखेकी छन् ।
उनले पछिल्ला केहीदिनदेखि आफूले सुरक्षा थ्रेट महशुस गरेको पनि उल्लेख गरेकी छन् ।