ब्लगसोमबार, फाल्गुण १०, २०७२

भोलिको भय

मनिष झा

युवाको नयाँ सोच पटक्कै आत्मसात् गर्न नचाहने प्रवृत्ति देख्दा लाग्छ, यो देश राजनीतिज्ञ र कर्मचारीको मात्रै हो ।

manish jhaएक व्यावसायिक संस्थाको सञ्चालकको हैसियतले दुई महीनाअघि मैले सम्पूर्ण सहकर्मीमाझ् माफी मागें । कारण थियो, समयमै तलब दिन नसक्नु । मैले आफ्नो यस्तो असहजता एक उद्यमी साथीसँग बाँडें । तर, उनले त आफ्नो व्यवसायमा पाँच महीनासम्म तलब ढिलो भएको पीडा सुनाए । म झनै दिक्क भएँ ।

२०६० सालमा स्नातक पढ्न म जनकपुरबाट उपत्यकामा आएँ । मेरो कलेज एक अमेरिकी विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित थियो । अधिकांश विद्यार्थी अध्ययन सकाएर अमेरिकी कलेजमा स्थानान्तरणको प्रयास गर्थे । केही साथी भिसा पाएकै दिनदेखि अन्य साथीलाई दोस्रो दर्जाको व्यवहार गर्थे ।

त्यस्तो व्यवहारले ममा पनि ईख नपलाएको हैन । तर, त्यो वेला म ‘आफ्नो जीविकोपार्जन होइन, अरूको जीवनमा सारथि बन्ने प्रयत्न गर्नु’ भन्ने बुबाको भनाइलाई कसरी साकार पार्ने भनी सम्झ्न्थें । त्यसो गर्न स्वदेश नै बस्नुपर्छ भन्ने लाग्थ्यो ।

३५ वर्षे उमेर, औसत राम्रो शिक्षा, १२ देशमा तालीम/अध्ययन । १२ वर्षको व्यावसायिक यात्रामा रहँदा मैले विभिन्न खाले अनुभवसँग आत्मसात् गरें । त्यसपछि भने ‘आफैं केही गरौं’ भन्ने ऊर्जाले प्रेरित गर्‌यो । अनि विगतमा आबद्ध संस्थाबाट फर्निचर, कम्प्युटरजस्ता सामग्री सापट मागेर तीन वर्षअघि ‘फ्याक्ट्स नेपाल’ शुरू गरें, जसले सूचना र यससम्बन्धी अनुसन्धानमा काम गर्छ ।

संस्था दर्ताको प्रक्रियामा सरकारी कर्मचारीको व्यवहार भोग्दा मैले देश विकासमा सघाउ पुग्ने नभई अपराध नै पो गर्न लागेछु कि भन्ने महसूस गर्न बाध्य नबनाएको पनि होइन । करदाता बनिरहँदा कर कार्यालयले नै हौसलाको साटो निराश नतुल्याएको पनि होइन । तर, मेरो इच्छाशक्ति डगमगाएन ।

पुरानो सम्पर्क र अनुभवका आधारमा म अन्य संस्थामा परामर्शदाता भई काम गर्थें । र, आफ्नो व्यवसाय चलाउँथें । अहिले पनि यो सिलसिला टुटिसकेको छैन, सँगसँगै साथीहरूसँग सहयोग पनि निरन्तर छ । अहिले संस्थामा देशभर पूर्णकालीन र आंशिक गरी ७० जनाले रोजगारी पाएका छन् ।

१२ वैशाखको महाभूकम्प र त्यसपछिको नाकाबन्दी उत्पन्न आर्थिक भूकम्पले व्यवसाय पनि थर्मरायो । तर, हामीले हिम्मत हारेनौं ।

उद्यमशीलताको ‘मन्द विष’
काम र भोगाइको आधारमा म दाबी गर्न सक्छु, देश परिवर्तनका संवाहकमध्ये म पनि एक हुँ । तर, यतिवेला मेरो ध्यान कहाँ कालोबजारीमा तेल किन्न पाइन्छ ? कसो गरे कर कम तिर्नुपर्छ भन्नेतिर जान्छ । दक्ष कर्मचारी विदेशिनबाट जोगाउने चिन्ता, चन्दा आतंकबाट बच्ने तरीका सोच्दैमा अधिकांश समय खर्च हुन्छ ।

म चाहन्छु, मेरो समय कतिपय महत्वपूर्ण अवधारणा र व्यवस्थापकीय तकनिक प्रयोगमा खर्च होस् । तर, धेरैजसो म तिनै समस्यामा अल्झ्रिहेको हुन्छु । केही स्वाभिमानी अभिमान बाँकी छ, जसले मलाई आफ्नो काम पूरा गर्न नझ्ुक्न प्रेरणा दिन्छ । तर, थाहा छैन बाध्यताका अघि मेरो स्वाभिमान कतिञ्जेल टिक्छ !

“नेपालमा व्यवसाय गर्नु भनेको टेनिस कोर्टमा र्‌याकेट लिएर उभिएको खेलाडीले क्रिकेट बलको सामना गर्नु जस्तै हो”, उद्योगपति विनोद चौधरीले एकपटक छलफलका क्रममा भनेका थिए । कुरा साँचो रहेछ, नेपाल साँच्चै अनिश्चयको देश बनेको छ ।

सन् १४९२ मा जतिवेला अमेरिका पत्ता लाग्यो, त्यो वेला हाम्रा पाटन र भक्तपुर दरबार क्षेत्रहरु समृद्धिका प्रतीक बनिसकेका थिए । तर सन् १९२७ मा भक्तपुरमा कामधेनु चर्खा प्रचारक महागुठी संघ नामक पहिलो संस्था दर्ता हुँदा अमेरिकाको मिचिगन विश्वविद्यालयमा उद्यमशीलता विषयको अध्यापन शुरू भइसकेको थियो । हामी त्यसै अल्झ्यिौं ।

पहिले राजा–रजौटाले दरबारमा आयोजित कुनै उत्सवको निम्तालुको सूचीमा सबैभन्दा पहिले भाइ–भारदार, प्रशासक, अन्य इच्छुक महानुभाव, साधु, सन्त र अन्त्यमा मात्रै साहू–महाजन पर्दथे । हाम्रा पुर्खाले निजी क्षेत्रलाई विकासको प्रमुख मेरुदण्ड न पहिले सम्झे न अहिले नै सम्झेका छन् ।

म र मजस्ता धेरै युवा विदेश जान नपाएर होइन देश बनाउनुपर्छ भनेर यहाँ बसेका हौं । विडम्बना, सरकार भने हामीलाई नै विदेशिन दबाब दिइरहेको छ । लाग्छ, देशलाई राजनीतिज्ञ र निजामती कर्मचारी मात्र भए पुग्छ, नयाँ सोच र जोशले भरिपूर्ण युवा चाहिन्न ।

पूर्वसचिव खेमराज नेपालले आफ्नो पुस्तकमा ‘समाज, संस्कार र शासन’ मा लेखेका छन्– ‘यो देश कसरी चल्ने भन्ने हैन, यसरी नै चल्ने हो कि भन्ने चिन्ता छ ।’ नसुध्रिएको देश हेर्दा थपक्क जागीर नखाएर वा विदेश नगएर गलत त गरिनँ भन्ने प्रश्नले बारम्बार खाइरहन्छ ।

आफूलाई मीठो लागे पनि परिणामको डरले सताउँछ । जस्तो कि, एउटा मीठो स्वादको विष, जो खाइरहूँ लाग्छ, तर खाइसकेपछि अवस्था कल्पना पनि गर्न सकिन्न ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...