समाचारमंगलबार, फाल्गुण ११, २०७२

‘मलाई बचाउनुस्– तिनीहरुले मार्छन, बेचिदिन्छन्’

हिमालखबर

mayaचरम घरेलु हिंसामा परेकी एक किशोरी न्याय र संरक्षणको खोजीमा महिला तथा बालबालिका कार्यालय जाजरकोटमा आईपुगेकी छन् ।

१८ वर्ष नपुग्दै दुईवटा विवाह गरिसकेकी रुकुम मुसिकोटकी माया गिरी अघिल्ला र हालका पति दुवैजनाको कुटाई, यातना र यौन हिंसाले आफूलाई थिलोथिलो पारेको बताउँछिन् ।

माईती रुकुमको मुसिकोट भए पनि बाबुआमा मजदुरीका लागि भारत जाने गरेकाले मायाको बाल्यकाल भारतमै वित्यो ।

त्यसैबीच बाबुले अर्की श्रीमती भित्र्याए, आमा पनि अर्कैसँग गइन् । एक्ली मायाको जिम्मेवारी लिएका काकाले भारतमै रहेका जाजरकोट काफ्लाका गोविन्द विटालुसँग विवाह गरिदिए । विवाहपछि माया जाजरकोटस्थित गोविन्दको घर स्याहार्न आइपुगिन १२ वर्षकै उमेरमा ।

दुई वर्षसम्म राम्रै गरेका श्रीमानले त्यसपछि भने आफ्ना ६० वर्षीय मामासँग यौन सम्बन्ध राख्न दबाब दिनथालेको माया बताउँछिन् ।

‘मामा सँग सुत्, उसैसँग विहे गर’ भन्दा नमानेपछि दिनहुँ कुटपिट गर्ने, पासो लगाएर मारिदिन्छु भन्दै पटक पटक झुण्ड्याउने प्रयास गरेको मायाले सुनाइन् ।

“धेरै दिन भोकै बसें, खान पनि दिएनन्, निकै दुखले रोईरोई एक वर्ष वित्यो,” उनले भनिन् ।

मायाका अनुसार पतिको घरमा बस्नै नसक्ने भएपछि भागेर उनी गाँउकै राजु शाहको शरणमा गइन् । एक वर्ष शाहको घरमा मजदुरी गरेर बसेकी उनले त्यसपछि गाउँकै प्रेम गन्धर्बसँग विहे गरिन् ।

गन्धर्बले पनि एक वर्षसम्म राम्रै गरेको त्यसपछि कुटपिट, जवर्जस्ती हुँदै खानै नदिने हुनथालेपछि मायालाई त्यहाँबाट पनि भाग्नु पर्‍यो ।

“बाबु आमा भारतमा कहाँ छन् थाहा छैन, आफन्त अरु चिन्दैन, कहाँ जाउँ,” मायाले भनिन् ।

त्यत्तिकै भौंतारिरहेकी उनलाई झाप्रा मछाईनका स्थानीय शिक्षक जनक बस्नेतले दुई महिना संरक्षण दिए ।

उनी घर फर्कन नमानेपछि दलित नेटवर्क जाजरकोटका जिल्ला अध्यक्ष गोपाल नेपालीले सदरमुकाम ल्याएर महिला तथा बालबालिका कार्यालयमा बुझाईदिएका छन् ।

आफ्ना बाबुको नाम समेत थाह नभएकी उनले आमाको नाम भने निर्मला गिरी भएको बताइन् ।

सानै उमेरमा ठूलो दुख पाएकी किशोरीलाई कसरी संरक्षण दिने, कहाँ राख्ने भन्ने बारे छलफल भइरहेको महिला तथा बालबालिका अधिकृत प्रज्ञा निरौलाले बताइन् ।

मायाको अघिल्ला दुवै पतिसँग न त विवाह दर्ता छ, न सम्बन्ध विच्छेद नै ।

प्रहरी मार्फत उनका दुवै पतिलाई खोजेर सम्पर्कमा ल्याईदिन आग्रह गरिएको निरौलाले बताईन ।

हिंसाको चपेटामा परेकी माया बेलाबेला विक्षिप्तजस्तै कराउँछिन, “मलाई बचाउनुस्, तिनीहरुले मार्छन, बेचीदिन्छन,” भन्दै ।
-राजेन्द्र कार्की, जााजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>