समाचारमंगलबार, फाल्गुण ११, २०७२
महिला भएकै कारण पछि परिंदैनः सभामुख
सभामुख ओनसरी घर्तीले नयाँ संविधानको कार्यान्वयन भएपछि नेपाली महिलाले ‘छोरी भएर जन्मेका कारण पछि परें’ भन्ने अवस्था अन्त्य हुने बताएकी छन् ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन्, “नयाँ संविधान पूर्णरुपमा कार्यान्वयन भएको दिन यो देशमा छोरी भएर जन्मिएको कारण म पछि परेकी हुँ भनेर कसैले पनि बाधा–विरोध सहेर बस्नु पर्दैन ।”
अघिल्लो पुस्ताका महिलाले गरेको आन्दोलन र योगदानको परिणामस्वरुप अहिले राष्ट्रपति, सभामुखमा महिला भएको भन्दै उनले पुराना महिला आन्दोलनकर्मीको सपना पूरा भएको दाबी गरिन् ।
दुई महिला उच्च पदमा पुग्ने बित्तिकै सबै महिलाको जीवनस्तरमा छुमन्तरको ढङ्गबाट परिवर्तन नहुने भए पनि चुलोचौकाको जिम्मेवारीबाट बाहिर निस्कन उत्साह, हौसलाका साथै धावा बोल्न साहस प्रदान गर्ने उनको भनाइ थियो ।
“भविष्यमा गर्ने कर्म छनोट गरिसक्नुभएको होला, त्यो मार्गमा अघि बढ्नुस्, आज छोरीका लागि नेपालले जितेको छ, हामीले जितेका छौँ, यो जितमा तपाईंहरुले पनि जित्न सक्नुपर्छ,” सभामुख घर्तीले भनिन् ।
स्नातक तहमा बिए, बिबिएस र बिएड तथा स्नातकोत्तर तहमा एमए अङ्ग्रेजी, समाजशास्त्र, मानवशास्त्र र एमबिएसका कक्षा सञ्चालन भइरहेको उक्त क्याम्पसमा हाल एक हजार ६०० छात्रा अध्ययनरत छन् ।
वार्षिक परीक्षाका विभिन्न विषयमा छ पटकसम्म सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल उक्त कलेजले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
