समाचारबुधबार, फाल्गुण १२, २०७२
सम्बन्ध सुधारका लागि भ्रमण सफल भएको छः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको सम्बन्धमा केही समय तुसारो देखिए पनि अब त्यस्तो नहुने विश्वास व्यक्त गरेका छन् ।

तस्वीर: रासस
भारतको ६ दिने भ्रमण सकेर आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने “दुई देशबीचको सम्बन्ध सुधारका लागि भ्रमण सफल भएको छ ।”
उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति मो हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय बौद्धिक एवम् कूटनीतिक क्षेत्रसँगको छलफलबाट दुई देशबीचको सम्बन्धमा धेरै विषयमा प्रस्टता आएको र ती भेटहरु उपयोगी भएको प्रधानमन्त्रीले जानकारी दिए ।
भ्रमणका क्रममा सन् २००१ मा गएको भूकम्पबाट क्षतिग्रस्त गुजरातस्थित भुजको पुनःनिर्माणको अवलोकनबाट आफूहरुमा उत्साह र आत्मविश्वास बढेको बताउँदै प्रम ओलीले भने, “ यसबाट धेरै ठूलो क्षति भएको स्थानमा पनि पुनःनिर्माण गर्न सकिन्छ भन्ने विश्वास हामीमा बढेको छ ।”
नेपालले पाउँदै आएको पारवाहन सुविधामा चार वटा ठाउँमा विस्तार भएको र पञ्चेश्वर विकास आयोजनाको संयुक्त बैठक छिट्टै बस्ने उनले बताए ।
नयाँ दिल्ली र मुम्बइमा रहँदा आफूले त्यहाँका व्यवसायी समूहलाई नेपालमा लगानी गर्न आह्वान गरेको बताउँदै चलचित्र कलाकारहरुलाई नेपालमा चलचित्र छायाङ्कन गर्न पनि आग्रह गरिएको ओलीले जानकारी दिए ।
मुम्बइमा रहँदा नेपालमा विमान दुर्घटना भएको थाहा पाएर अत्यन्त दुःखी भएको बताउँदै उनले पीडित परिवारप्रति सहानुभूति र समवेदना प्रकट गरे ।
प्रधानमन्त्रीले भने, “अब हामी हाम्रो आकाशलाई अझ सुरक्षित बनाउने काममा लाग्नेछौँ ।”
यही ७ फागुनमा भारतको भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलमा ४६ सदस्य थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
