थप समाचारबिहीबार, फाल्गुण १३, २०७२
विनिताको वात्सल्य
सात वर्षअघि बाग्लुङको निसी गाविसको एकै परिवारका पाँच अनाथ बालबालिकाको कष्टकर जीवनबारे थाहा पाएपछि बसुन्धरा, काठमाडौंकी विनिता अर्याल बाग्लुङ लागिन्।
ती बालबालिकालाई काठमाडौं ल्याउन हिंडेकी १९ वर्षे विनिताको आँटलाई कसैले पत्याएन।
“तपाईं आफैं भर्खरकी हुनुहुन्छ, फेरि, संस्था पनि रहेनछ। के आधारमा बच्चा सुम्पिने ?” यस्ता प्रश्नको उत्तर उनीसँग थिएन। खिन्न हुँदै फर्किएकी विनितालाई पाँचै महीनापछि गाविस सचिव हरिहर पनेरुले तिनै बच्चा लिइदिन अनुरोध गरे।
“८ वर्षको बच्चाले आफ्ना ४ भाइबहिनीलाई गहुँको सातु ख्वाएर पालेको रहेछ,” उसबेलको कुरा सम्झँदै विनिता भन्छिन, “त्यसले मेरो मन पग्लियो र उनीहरुलाई आफैंले हुर्काउने विचार गरें ।”
आफूसँग नागरिकता नहुँदा विनिताले आमा रेविका कार्कीको नामबाट हाम्रो बाल संरक्षण धरोहर, नेपालु नामक बाल आश्रम दर्ता गरिन्। जहाँ अहिले ३ देखि १४ वर्षका १८ जना बालबालिका छन्। “कोही पत्रिकामार्फत सम्पर्कमा आए, कोही सडकमा त कोही पुलमुनि भेटिए” उनी भन्छिन्।
बिहे गरेकै वर्ष घरपरिवार र श्रीमान्लाई समेत नसोधी त्यो आँट गरेको सम्झिँदा अहिले उनी आफैं छक्क पर्छिन् ।
बालबालिकाको स्याहार खर्च जुटाउन पार्लर खोलेकी विनिता साउदी अरब गएका श्रीमान्ले पठाएको पैसा पनि आश्रममै लगाउँछिन्।
त्यतिले पनि नभ्याएपछि विभिन्न समूहसँग ऋण लिएर पनि गर्जो टार्ने गरेको उनले बताइन् ।
“दाल–चामल, ग्याँस, केटाकेटीका लुगाफाटा किन्न धौ–धौ पर्छ”, उनी सुनाउँछिन्, “कोठा भाडा, बच्चाहरूको स्कुल फि सबै जोड्दा महिनामा एक लाख खर्च हुन्छ ।”
नगद चन्दाको सट्टा जिन्सी सामान उपहार लिने गरे पनि उनी हिजोआज बालबालिकाको पढाइ ‘स्पोन्सर’ गरिदिने दाताको खोजीमा छिन् ।
“महीनामा रु. एक लाखजति खर्च हुन्छ” उनले भनिन् । ”
आफ्छोनी छोरीसहित बालआश्रममै बस्ने उनी सबै बालबालिकालाई आफ्नै खुट्टामा उभिएनसक्ने बनाउन चाहन्छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
