टिप्पणीबिहीबार, फाल्गुण १३, २०७२
फिक्का दुई ताराको दाउ
यो महाधिवेशनमा शेरबहादुर देउवाले झिनो मतान्तरले रामचन्द्र पौडेललाई पराजित गरे पनि राजनीतिक रूपमा कोइराला परिवारको विजय ठानिनेछ ।
१३ औं महाधिवेशनको सँघारमै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले देहत्याग गरे। पार्टी सभापतिको निधनपछि पक्ष–विपक्ष दुवैतिरका नेता–कार्यकर्ता वैराग्यको भावमा छन्। र पनि, मुलुकको संविधान अनुसार पार्टीको वैधानिकता जोगाउन महाधिवेशनमा जुट्नुको विकल्प छैन, उनीहरूसँग।
सुशीलले पार्टी सभापतिमा दोस्रो पटक उम्मेदवार नहुने वाचा गरेका थिए। बाँचेका भए उनलाई त्यो वाचा तोड्न बाध्य बनाइन्थ्यो कि भनेर शंका गर्ने ठाउँ भने छ। उनी विनाको कांग्रेस महाधिवेशनले नेतृत्वको चयन मात्र होइन पार्टीकै भविष्य निर्धारण गर्नेछ। गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको समयमा शैलजा आचार्य, शेरबहादुर देउवा, रामचन्द्र पौडेल र सुशील कोइरालालाई कांग्रेसका ‘चारतारा’ भनिन्थ्यो। अहिले चारतारामध्ये देउवा र पौडेल मात्र छन्। र, यिनैमध्ये एकले कांग्रेस सभापति बन्ने सौभाग्य पाउनेछ।
गत २५ वर्षमा यी दुवैले सरकार, संसद् र पार्टीमा मनग्य भूमिका पाए, तर राष्ट्रिय–अन्तर्राष्ट्रिय छवि बनाउन सकेनन्। पार्टीमा यतिवेला यीभन्दा पछाडिका थुप्रै अगाडि आउन खोजिरहेका पनि छन्। त्यसमा सरकार र पार्टीका विभिन्न पदमा बसेर काम गरिसकेका स्वच्छ तर ‘भिजनलेस’ प्रकाशमान सिंह, निष्ठावान तर अव्यावहारिक डा. रामशरण महत, चलायमान अर्जुननरसिंह केसी र साह्रै धूर्त कृष्णप्रसाद सिटौलादेखि नाति पुस्ताका प्रखर गगन थापासम्म छन्।
कोइराला परिवारका सदस्यहरू डा. शशांक, डा. शेखर र सुजाता त भइहाले, महेन्द्रनारायण निधिपुत्र विमलेन्द्रदेखि प्रदीप गिरी र पूर्णबहादुर खड्कासम्मले कांग्रेसको पार्टी जीवनमा एक किसिमको तरंग पैदा गरेका छन्। उनीहरूसँग पनि देउवा र पौडेललाई चुनौती दिनेगरिको छवि भने छैन। त्यसैले, कुनै चमत्कार भएन भने कांग्रेसको आगामी सभापति देउवा र पौडेलमध्ये एक बन्ने पक्का नै छ।
भिडन्तको तयारी
आजका दिनसम्म नेपाली कांग्रेसमा ६०/४० को भागबण्डे राजनीति छ। २०५९ असारमा फुटेको कांग्रेसलाई जोड्न यो सूत्र अपनाइएको थियो। एकताको महाधिवेशन भनिएको १२औं महाधिवेशनले भागबण्डाको राजनीति अन्त्य हुने अपेक्षा गरिएकोमा १३औं महाधिवेशनमा यो झ्न् बढेको छ। यतिवेला कांग्रेसजनहरू आरोप–प्रत्यारोपमा छन्।
देउवा पक्ष क्रियाशील सदस्यता वितरणमा बदमासीदेखि निर्वाचनमा व्यापक धाँधलीसम्म गरेको आरोप लगाइरहेको छ, जसलाई कोइराला क्याम्प (संस्थापन पक्ष) खासै स्वीकार गर्दैन। रमाइलो पक्ष के छ भने धाँधली भएको दाबी गर्ने शेरबहादुर देउवा पार्टी सभापतिमा आफ्नो जित पक्का भएको बताउँछन्।
कांग्रेसभित्रको कटुता कहाँसम्म पुगिसकेको छ भने महाधिवेशनको पूर्वसन्ध्यामा भएको सभापतिको निधनलाई ‘रहस्यमय’ भन्छ, देउवा पक्ष। अर्कातिर, संस्थापन पक्ष ‘भ्रष्टहरूको पृष्ठपोषक देउवाले प्रजातन्त्र लगेर दरबार बुझ्ाएको’ प्रचारमा छ।
उनीहरूको आरोप छ– प्रजातन्त्रवादीले देउवामाथि विश्वास गर्न सक्दैन, यी मधेश विरोधी, थारू विरोधी, जनजाति विरोधी हुन्। सत्ता र शक्तिका लागि यिनी जति पनि निकृष्ट बन्न सक्छन्, आदि।
कांग्रेसभित्रको आरोप/प्रत्यारोप सुन्दा लाग्छ, यहाँ सैद्धान्तिक बहसको लागि कुनै ठाउँ छैन। यस्तो कटुता बढ्दै गए फेरि पार्टी विखण्डन हुने सम्भावनालाई नकार्न सकिन्न। सफा कुरा– कांग्रेसमा एकता छैन। अब पनि द्वन्द्व व्यवस्थापनको स्वच्छ पद्धति नअपनाउने हो भने कांग्रेसलाई आफ्नो औचित्य र सान्दर्भिकता जोगाउन गाह्रो पर्नेछ।
कोइराला रणनीति
कसैले मानुन् वा नमानुन्, कोइराला परिवार कांग्रेसको संस्थापन धार हो। स्थापनाकालदेखि नै यो पार्टीमा दुई धार थियो। २००६ सालमा बीपीले नेतृत्व गरेको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्ण शमशेरको नेपाल प्रजातन्त्र कांग्रेसबीचको एकीकरणबाट नेपाली कांग्रेस बनेको हो।
बीपी र सुवर्ण एक भएको त्यो वेला मातृकाप्रसाद कोइराला (बीपीका ठूल्दाइ) ले अर्को गुट बनाए। पहिला बीपी गुट, सुवर्ण गुट, मातृका गुट अनि पछि गिरिजाप्रसाद कोइराला गुट, किशुनजी–गणेशमानजी गुट अनि सुशील गुट र देउवा गुट। गुटभित्रका उपगुटहरूको सान्दर्भिकता र चर्चा अहिले आवश्यक छैन।
बीपीपुत्र डा. शशांक, भतिजा डा. शेखर र गिरिजापुत्री सुजाता अहिले कोइराला परिवारको राजनीतिको केन्द्रबिन्दुमा छन्। हिजो नेतृत्वको आकांक्षा देखाए पनि सुशीलको निधनपछि यी तीनै पात्र अहिले रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने पक्षमा देखिएका छन्।
पोखरा महाधिवेशनमा कृष्णप्रसाद भट्टराईले गिरिजाप्रसादका शिष्य देउवालाई प्रयोग गरे जस्तै अवस्थामा छन्, अहिले कोइराला परिवारका सदस्यहरू। कोइराला इतरबाट राजनीतिमा उठेका पौडेललाई अहिले देउवाविरुद्ध उम्मेदवार बनाए ढिलोचाँडो पार्टीको नेतृत्व कोइराला परिवारमा फर्कने उनीहरूको विश्वास छ।
६ दशकबाट आफ्नै सेरोफेरोमा घुमेको कांग्रेसको राजनीतिलाई कायम राख्नु यतिवेला कोइराला परिवारको चुनौती हो। गणेशमान सिंह सर्वोच्च नेता हुँदा होस् वा कृष्णप्रसादको सभापतित्वकालमा, कांग्रेसमा जाने भुईंचालोको इपिसेन्टर कोइराला निवासै हुन्थ्यो।
पार्टीमा उथलपुथल र तरंगको प्रवाह त्यहींबाट हुन्थ्यो। बीपी पटकपटक गरी २८ वर्ष कांग्रेसको सभापति रहे। गिरिजाप्रसाद २०५३ बाट लगातार तीन कार्यकाल सभापति भए भने त्यसपछि सुशील कोइराला। सुशीलको निधनपछि भने कोइराला परिवारका सदस्यले सभापति हात पार्ने अवस्था भएन।
यो अवस्थामा सधैं संस्थापनमै रहे पनि सधैं इतर राजनीति गरेका पौडेललाई देउवासँग भिडाए विरासत जोगाउन सजिलो हुने विश्वास कोइराला परिवारका सदस्यहरूले गरेका हुनसक्छन्। भोलिका दिनमा जोसुकैले जिते पनि कोइरालाहरूको सहयोगविना पार्टी चल्दैन।
कोइरालाहरूले १ फागुनमा महाराजगञ्जमा बैठक गरी संस्थापन पक्षको एकमात्र उम्मेदवार तय गर्ने भन्दै पौडेललाई जनाउ दिइसकेका छन्। कोइरालाहरूको बुझाइ यो पनि छ– पौडेललाई समर्थन गर्दा उनले आफ्नो उम्मेदवारी बलियो बनाउन कोइराला परिवारका एक जनालाई महामन्त्रीको उम्मेदवार बनाउनेछन्।
परिणाम के होला?
गिरिजाप्रसाद कोइरालाका कुनै जमानाका एक होनहार शिष्य हुन्– देउवा। गणेशमान र कृष्णप्रसादले समेत सकेनन् गिरिजाप्रसादसँग। जनस्तरमा लोकप्रिय भए पनि कार्यकर्ता समातेर राख्ने रणनीतिक कौशल गिरिजाप्रसादमा जत्तिको थिएन, उनीहरूसँग।
गिरिजाप्रसादसँग कार्यकर्ताको भीड जम्मा गर्न चाहिने सामग्री र तालतिकडमको कुनै अभाव हुँदैनथ्यो। देउवाले ती सबै दाउपेच जानेका छन्। उनले गिरिजाप्र्रसाद–सुशील नहुँदा संस्थापनमा छाएको अत्यास पनि राम्ररी बुझेका छन्।
संस्थापनका मानिसहरू सुशील नभएको अवस्थामा आफ्नो राजनीतिक भविष्य कसरी सुरक्षित गर्ने भनेर व्यक्तिगत रूपमै चिन्तित छन्। त्यसको लाभ आफूलाई हुनेमा ढुक्क देउवा, कोइराला परिवारका एउटा मात्र सदस्यलाई भए पनि आफ्नो पक्षमा ल्याउने रणनीतिमा छन्। शशांक, सुजाता जसलाई भए पनि आफ्नो टीमबाट पदाधिकारीमा उम्मेदवार बनाउँदा जित्न सजिलो हुने उनको बुझाइ छ।
उनीहरूमध्ये कसैलाई पनि क्याम्पबाट निकाल्न नसके संस्थापनका अरू असन्तुष्टहरूलाई तान्ने कसरत पनि शुरू गरेका छन्, देउवाले। त्यसका लागि उनले अर्जुननरसिंह केसी र कृष्ण सिटौलामाथि आँखा गाडेका छन्। प्रकाशमान र रामशरणले विद्रोह गरिदिए आफूलाई सजिलो हुने देउवाको आकलन छ।
संस्थापन पक्ष भने कोही देउवातिर नजानेमा विश्वस्त छ। कोइरालाहरू संस्थापनले सहमतिमै आफ्नो टीम चयन गर्ने र त्यसलाई सबैले सहयोग गर्नेमा ढुक्क छन्।
संस्थापन खुमबहादुर खड्कालाई समेत आफूतिर ल्याउने रणनीतिमा रहेका उनीहरू महाधिवेशन अगाडि देउवा समूहको ठूलै जमात आफ्नो पक्षमा आउने दाबी पनि गर्छन्। संस्थापन पक्ष निर्वाचन परिणाममा पनि अगाडि जस्तो देखिएको छ, तर अभिभावकको अभाव महसूस गरिरहेको संस्थापनलाई महाधिवेशनसम्म मतदाता जोगाइराख्नुपर्ने चुनौती छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
